रोग कीरा र हुरी बतासले पनि धान बालीमा क्षति गरेको छ। गएको वर्ष धनकुटामा ४ हजार ८ सय ३२ हेक्टरमा गरिएको खेतीबाट २० हजार १ सय ५२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
What you should know
धनकुटा — धनकुटामा यो वर्ष धान उत्पादन घट्ने भएको छ । रोपाइँका समयमा लम्बिएको खडेरी र धान फूल्ने र पाक्ने बेलाको बेमौसी वर्षाका कारण धान उत्पादनमा गत वर्षभन्दा करिब १० प्रतिशतसम्म कमी आउने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
रोग कीरा र हुरी बतासले पनि धान बालीमा क्षति गरेको छ । गएको वर्ष धनकुटामा ४ हजार ८ सय ३२ हेक्टरमा गरिएको खेतीबाट २० हजार १ सय ५२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
धान रोपाइँको मुख्य सिजन असार र साउन महिनाको खडेरीले विगतभन्दा यो वर्ष रोपाइँको क्षेत्र समेत १ सय १३ हेक्टर घटेको थियो । वर्षा, बतास, बाढी र डुबानका कारण धनकुटामा २ हजार ६ सय ९ हेक्टरमा लगाइएको करिब १२ हजार ४ सय ४४ मेट्रिक टन धान खेतीमा असर पारेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रत्नबहादुर मगरले जानकारी दिए ।
धान बालीमा भएको क्षतिबाट करिब ४१ करोड ५२ लाख ९९ हजार रुपैयाँ नोक्सान भएको केन्द्रले जनाएको छ । धनकुटाका सात स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति पाख्रिबास, धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकाका किसानले व्यहोर्नुपरेको छ ।
स्थानीय तहबाट प्राप्त तथ्यांक अनुसार ४ हजार ५ सय ३० काटिसकेको, पाकेर काट्न बाँकी ७ हजार ७ सय ९३, कलिलो ढलेको ४ र पाक्न बाँकी रहेको ८६ मेट्रिक टन हरियो धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताए ।
धनकुटाको बोधे, लेगुवा, बेलहरा, मारेककटहरे, साने, परेवादिन, मूर्तिढुंगा, जीतपुरलगायतका स्थानमा धान उत्पादनका लागि कहलिएका छन् । यी क्षेत्रमा अटे, मनसरो, दूधराज, मसिनो, कालो मसिनो, बेलगुटी जस्ता स्थानीय र उन्नत जातका धान खेती हुँदै आएको छ ।
