खवास समूहले ६ युवाबाट २७ लाख रुपैयाँ असुलेको खुलेको छ ।
What you should know
विराटनगर — मोरङको धनपालथान गाउँपालिका–७ का गणेश खवास (थारु) अघिल्लो वर्ष भिजिट भिसामार्फत दक्षिण–पूर्वी एसियाली मुलुक कम्बोडिया पुगे। मानव तस्करको जालोमा फसेर पुगेका उनलाई ‘जुस र जुत्ता कारखानामा सजिलो काम’ दिलाइदिने भन्दै दलालले साढे ४ लाख रुपैयाँ असुलेको थियो । तर, कम्बोडिया पुगेपछि उनी छाँगाबाट खसेझैँ भए ।
कारण- त्यहाँ न त जुस कारखानाको काम थियो, न त जुत्ता फ्याक्ट्री नै । काम थियो त, समुद्री किनारमा बालुवा बोक्ने, ठूला–ठूला निर्माण कम्पनीमा फलाम उचाल्ने जस्ता कठोर शारीरिक श्रम ।
कम्बोडियामा केही समय त्यही काम गर्दै हैरान भएपछि उनले अर्को जुक्ति निकाल्दै दलालहरूसँग मिल्न थाले । आफैँ फसेको जालोमा गाउँका युवालाई पनि प्रलोभन देखाएर बोलाउने र सोहीवापत मोटो रकम असुल्ने योजना उनले बुनेँ । उनको योजना सफल पनि भयो । आफन्त मात्र होइन, गाउँका अन्य युवासमेत साढे ४–४ लाख बुझाएर कम्बोडिया पुगे ।
तर, उनीहरूले पनि त्यही पीडा भोगे। भनिएको काम थिएन, तलब आधा, अनि यातना दोब्बर । ३–४ महिना तड्पिएपछि घरबाट पैसा मगाएर फर्किन उनीहरू बाध्य भए । कम्बोडियाबाट फर्किएका युवाहरूले फसेको रकम फिर्ता माग्दै जिल्ला प्रशासन कार्यालय, मोरङमा उजुरी दिएका छन् ।
सोही आधारमा धनपालथान र कटहरीका ६ युवालाई कम्बोडिया पठाउन सहजीकरण गर्ने विश्व खवास र गणेशका छोरा अनिल खवास पक्राउ परेका छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले युवालाई विदेश पठाएर ठगी गर्ने जो–कसैलाई कडा कारबाही गरिने बताए ।
खवास समूहले ६ युवाबाट २७ लाख रुपैयाँ असुलेको खुलेको छ । कटहरी–७ का विजय खवास भन्छन्, ‘जुस कारखानामा ९० हजार तलब, सजिलो काम भनेर ढाँटियो । हामी त्यही मीठो प्रलोभनमा फस्यौँ, लाखौँ डुब्यौँ ।’
साउदी अरबबाट केही समयअघि फर्किएका विजयले कम्बोडियामा मनग्ये आम्दानी हुने सुनेर सयकडा तीनको ब्याजमा ५ लाख ऋण लिएर दलाललाई बुझाएका थिए । अहिले ऋणको ब्याज मात्रै एक लाख रुपैयाँ पुगेको छ ।
धनपालथान–५ का सन्जित खवासको दुःख पनि उस्तै छ । ‘जुस कारखानामा ९० हजार तलब भनियो, पुगेपछि गिटी–बालुवा बोक्न लगाइयो । तलब पनि भनिएकोको आधा,’ उनले भने । कम्बोडियामा रहेका गणेश विश्व खवासका सानुबुवा हुन् । आफ्नै मान्छे भएकाले ढुक्क भएर पैसा बुझाएका थिए । तर, त्यहाँ कठोर मजदुरी गर्नुपर्ने भएपछि महिना दिनमै फर्किए ।
‘फर्किन नै दिइएको थिएन,’ उनी भन्छन्, ‘नेपाल आएर उजुरी गर्दिनँ भन्ने कागजमा हस्ताक्षर गराएपछि मात्रै छोडे ।’ कटहरी–७ का आकाश झाँगर त गम्भीर मानसिक तनाव (डिप्रेसन) मा परे । अहिले पनि उनी एकोहोरिन्छन् । ‘यति धेरै यातना मैले कहिल्यै भोगेको थिइनँ,’ उनले सुनाए, ‘घरबाट टिकट पठाउन लगाएर बल्ल फर्किन पाएँ ।’
भिजिट भिसामार्फत कम्बोडिया पुगेका धेरै नेपाली अहिले पनि त्यहाँ अवैध रूपमा कार्यरत रहेको पीडितहरूको भनाइ छ ।
