कोशीमा थपिए १ लाख ५७ हजार नयाँ मतदाता, सबैभन्दा बढी मोरङमा

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कार्यालयमै पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ५८ हजार ९ सय २५ जना छन् । राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा ९८ हजार ६ सय ८८ मतदाता थपिएका छन् ।

मंसिर ९, २०८२

अर्जुन सुवेदी

157,000 new voters added in Koshi, highest in Morang

What you should know

सुनसरी — कोशी प्रदेशमा १ लाख ५७ हजार ६१३ नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले पछिल्लो पटक गत असोज १० देखि मंसिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका १४ जिल्लामा १ लाख ५७ हजार ६ सय १३ नयाँ मतदाता थपिएका हुन् । 

विभिन्न निर्वाचन कार्यालय र राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा नयाँ ती मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कार्यालयमै पुगेर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या ५८ हजार ९ सय २५ जना छन् । राष्ट्रिय परिचयपत्रको अभिलेखका आधारमा ९८ हजार ६ सय ८८ मतदाता थपिएका छन् ।

यसअघि नयाँ मतदाता नामावली सङ्कलन गर्नुअघि कोशी प्रदेशमा गत असोज १० सम्म ३४ लाख ३३ हजार ९ सय मतदाता रहेका थिए । नयाँ मतदाता थपिनेमा सबैभन्दा बढी मोरङबाट ४४ हजार ४०२ जनाको नाम दर्ता भएको । त्यसपछि क्रमशः झापाबाट ३५ हजार ३ सय १९, सुनसरीबाट ३२ हजार ३ सय ८२ जना नयाँ मतदाता थपिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङबाट ३ हजार, पाँचथरबाट ४ हजार ३ सय ८९, इलामबाट ६ हजार ६४, संखुवासभाबाट २ हजार ८ सय ८, तेह्रथुमबाट ३ हजार ६ सय ७७, धनकुटाबाट ३ हजार २ सय ७२ मतदाता थपिएका छन् । त्यसैगरी, भोजपुरबाट २ हजार ९ सय ९, खोटाङबाट ४ हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट ५ हजार ९३२, उदयपुरबाट ८ हजार ७ सय १७ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ मा घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नयाँ मतदातालाई समावेश गर्न फोटोसहितको नामावली सङ्कलन गरेको हो । आयोगले अहिले सङ्कलन भएका मतदाताहरूको नामावलीको विवरण अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ । यसअन्तर्गत दोहोरिएका र पायक पर्ने स्थानबाट नामावली दर्ता गरेका मतदाताको विवरण अद्यावधिक गर्ने तथा त्रुटि सच्याउने कार्य हुनेछ ।

अर्जुन

Link copied successfully