दुर्लभ वन्यजन्तु र वनस्पतिको अध्ययन गर्दै चार देशका विद्यार्थी

ताप्लेजुङको फुङलिङ नगरपालिका-९ हाङदेवाको हिमालयन हाब्रे रिसर्च सेन्टरमा नेपालसहित बंगलादेश, भारत र भुटानका २१ जना विद्यार्थीहरू दुर्लभ वन्यजन्तु र वनस्पतिका विषयमा अध्ययन गरिरहेका छन्।

मंसिर ८, २०८२

आनन्द गौतम

What you should know

ताप्लेजुङ — भारतको आसामकी सङ्गीता डेका तीन सातादेखि फुङलिङ नगरपालिका-९ हाङदेवाको हिमालयन हाब्रे रिसर्च सेन्टरमा बसेर वन्यजन्तु र वनस्पतिका विषयमा अध्ययन गरिरहेकी छन्। फुङलिङबाट १० र सुकेटार विमानस्थलबाट २ किलोमिटर दूरीमा रहेको सेन्टरमा उनीसँगै २१ जना छन्।

यी नै साथीसँग उनी समुदायले संरक्षणको क्षेत्रमा के गरिरहेका छन् भनेर जान्न कहिले फावाखोलाको बस्तीतिर पुग्छिन् भने कहिले फुरुम्बुका सामुदायिक वन उपभोक्ताले लगाएको नर्सरी हेर्न पुग्छिन् । जङ्गलको बाटो पैदलै हिडेर पुग्नुपर्ने भएकाले उनले उकालो ओरालो गर्न निकै मेहनत गरिरहनु परेको छ ।

बङ्गलादेशको ढाकाबाट आएका फेरोस अक्तरलाई रेडपान्डा कहिले देख्न पाइएला भन्ने कौतुहलता छ । दिनहरू बित्दै जाँदा र यहाँ छोड्नुपर्ने दिन नजिकिँदै गर्दा रेडपान्डाका नाममा बनाइएको हिमालयन हाब्रे सेन्टरमा रहेर पनि रेडपान्डा नदेखिएला कि भन्ने चिन्ता पनि छ । तर उनका लागि यो एउटा पाटो मात्रै हो ।

संरक्षणकै विद्यार्थी उनले समुदायका मानिस संरक्षणमा कसरी जोडिएका छन् ? समुदायले संरक्षणको काम गरिरहँदा के अपेक्षा गरेका हुन्छन् ? वन्यजन्तुका लागि क्यामेरा ट्र्याप कसरी राख्न सकिन्छ ? भन्ने विषयमा सिकिरहेका छन्। 

भारत आसामकी सङ्गीता र बङ्गलादेश ढाकाका फेरोस अक्तरसँग गृह जिल्ला ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिका-१ खेजेनिमका बिपना लिम्बू पनि छन् । पहाडमै जन्मी हुर्किएकी उनलाई भने यहाँको उकालो ओरालाको प्रवाह छैन । फरक देशका साथी, समुदायका व्यक्ति र वन्यजन्तुका विज्ञहरूसँग कसरी धेरै कुरा सिक्न सकिन्छ भन्ने कौतुहलता छ ।

आफ्नो जिल्लामा कार्यक्रम भइरहेकाले बाहिरबाट आएका साथीलाई कसरी उत्सुक बनाउन सकिन्छ भन्ने पनि छ । उनका लागि अझ रमाइलो त के पनि छ भने उनीहरू बसिरहेको हाब्रे सेन्टरबाट उनको जन्मस्थल वारिपारि देखिन्छ । स्थलगत अध्ययनका लागि जंगलमा वा बस्तीमा निस्किएको बेला भारत, बङ्गलादेशबाट आएका साथीलाई उकालो–ओरालो गर्न र यहाँका मानिसको लवज बुझ्न कठिन हुन्छ । त्यति बेला उनले सहयोग गर्ने गरेकी छन् । 

तराईको फाँटबाट आएकालाई पाइलो सार्नै कठिन भएका बेला ‘वि क्यान डु इट’ भनेर उत्साही गराउँछिन्। ‘सँगसँगै भएर खाम्छौँ, हिंड्छौँ, पढ्छौँ र क्यामेरा जीपीएस, जीआईएस चलाउने ज्ञानहरू पनि सिक्छौँ,’ बिपनाले भनिन्, ‘साथीलाई गाह्रो भएको बेला मष्टली चाहिँ हामी एक अर्कालाई इनकरेज गर्छौ ।’ आफूहरूले इनकरेज गरेपछि साथीहरूले लगातार प्रयास गर्न सफल हुने उनले सुनाइन् ।

‘स्थानीयको सहयोग र उत्साह पाउँदा थाकेको बेला पनि पुरै सक्रिय भएर काम गर्ने हुँदो रहेछ,’ यहाँको गतिविधि नियालिरहेका हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले भने, ‘मानसिकरुपमा पनि सहयोग गरेपछि अरूकै सरह काम गर्न सकिने बुझाइ हामी देख्नेलाई पनि भएको छ ।’ 

यी २१ विद्यार्थीलाई नेपालको रेडपान्डा नेटवर्क र भारतको आईबीटीआई नामक संस्थाले यहाँ भेला गराएका हुन् । रेडपाण्डा नेटवर्क र आईबीटीआईले संरक्षणमा इच्छुक र भविष्यमा यस सम्बन्धी काम गर्न चाहनेका लागि आवेदन मागेको थियो । कार्यक्रमका लागि आउटडोर कोर्डिनेटरको काम गरेर ढुक्कै विद्यार्थीसँग बसिरहेका रेडपान्डा नेटवर्क काठमाण्डौंका निशान लिम्बू यहाँबाट फर्किएपछि सहभागीले आ-आफ्नो ठाउँमा वन्यजन्तुको वासस्थान, पुनर्स्थापना, समुदायसँगको सहकार्य जस्ता संरक्षण सम्बन्धी परियोजनाका क्षेत्रमा काम गर्ने बताउँछन् ।

एक महिनासम्मको यहाँको बसाइले उनीहरूलाई यही विषय सिकाउने छ । ‘इष्टर्न हिमालयन रेन्जमा पर्ने नेपाल, भारत, भुटान र बङ्गलादेशका विभिन्न ठाउँमा फरक विधाबाट पनि संरक्षण सम्बन्धी काम गर्नका लागि दक्ष बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो,' उनले भने । 

रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्च ताप्लेजुङद्वारा निर्माण गरिएको हिमालयन हाब्रे सेन्टर यस्तै खालका रिसर्च, अनुसन्धानमूलक कार्यक्रम गर्न बनाइएकाले यही ठाउँलाई रोजेर कार्यक्रम गरिएको उनले बताए । रेडपाण्डा, भालु, सालकदेखि धेरैजसो दुर्लभ वन्यजन्तु पाइने र यहाँको भौगोलिक अवस्थिति अनुसारका फरक फरक प्रजातिका बोटबिरुवा भएकाले पनि यही ठाउँ उपयुक्त भएको निशान बताउँछन् ।

विद्यार्थीले नर्सरी व्यवस्थापन, संरक्षणमा समुदायको सहभागिता, मानव वन्यजन्तु द्वन्द्व र निराकरणको उपाय, वासस्थान पुनर्स्थापनामा तयारी, जैविक विविधताको अध्ययन लगायतका विषयमा स्थलगतरुपमै अध्ययन गरिरहेका छन्। उनीहरूलाई डिभिजन वन कार्यालयका अधिकृतदेखि सामुदायिक वनमा काम गरिरहेका अनुभवी उपभोक्ताहरूले सिकाइरहेका छन्।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully