संखुवासभामा गाउँका बिरामीलाई उद्धारकै भर

गाउँमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा दुर्गम क्षेत्रका बासिन्दा आधारभूत उपचार सुविधाबाट समेत बञ्चित भइरहेका छन् ।

मंसिर ८, २०८२

दीपेन्द्र शाक्य

Village patients in Sankhuwasabha rely on rescue

संखुवासभा — संखुवासभाको भोटखोला गाउँपालिका–३ की ४२ वर्षीया गर्भवती छिटेक भोटेलाई गत असोज ६ गते अत्यधिक रक्तस्राव भएपछि सेनाको हेलिकप्टरबाट विराटनगरस्थित कोशी प्रादेशिक अस्पताल पुर्याइयो ।

समयमै अस्पताल पुर्याएका कारण उनको ज्यान जोगियो । गाउँमा भरपर्दो स्वास्थ्य सेवा नहुँदा दुर्गम क्षेत्रका बासिन्दा आधारभूत उपचार सुविधाबाट समेत बञ्चित भइरहेका छन् । 

सरकारले ०७६ मा  ‘एक पालिका, एक अस्पताल’ निर्माण सुरु गरे पनि संखुवासभामा कार्यान्वयन भएको छैन । खाँदबारीमा जिल्ला अस्पताल, चैनपुरमा नगर अस्पताल र सिलिचोङ गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । तर, ती संस्थाबाट सामान्यबाहेकको सेवा नपाएको स्थानीयको गुनासो छ ।

दुर्गम भोटखोला क्षेत्र भौगोलिक रूपमा अत्यन्तै कठिन भएकाले समयमै उपचार पाउन झन् चुनौतीपूर्ण छ । यातायातको पहुँच नपुगेका कारण आकस्मिक अवस्थामा स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र गाउँपालिकाको समन्वयमा उद्धार गर्नुपर्ने बाध्यता छ । भोटेको उद्धार पनि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गरिएको थियो ।

जिल्ला अस्पतालमा ५० बेड र पाँच जना विशेषज्ञ चिकित्सकसहित सेवा रहे पनि अन्य नौ स्थानीय तहमा विशेषज्ञ सेवा उपलब्ध छैन । गम्भीर बिरामीका लागि सदरमुकाम खाँदबारी, धरान, विराटनगर वा काठमाडौं धाउनुपर्ने बाध्यता रहन्छ । भोटखोला गाउँपालिकाका अध्यक्ष बाङछेदर भोटे भन्छन्, ‘भरपर्दो स्वास्थ्य सेवा नहुँदा दुर्गमका बासिन्दाको उपचारमा खर्च बढ्ने मात्र होइन, ज्यानै समेत जोखिममा पर्ने अवस्था छ ।’

संखुवासभाका १० स्थानीय तहमध्ये अधिकांश ग्रामीण बस्तीमा यातायातको सहज सुविधा छैन । सडक नपुगेका क्षेत्रमा बिरामीलाई अस्पताल आउजाउमै सास्ती हुने गरेको छ । 

दीपेन्द्र शाक्य

Link copied successfully