जेनतेन चलेको पाँचथर अस्पताल

भवन निर्माण सम्पन्न भई २०८० मंसिर २९ मा उद्घाटन भए पनि आवश्यक उपकरण र दक्ष जनशक्ति नहुँदा पाँचथर अस्पतालले पूर्ण क्षमतामा सेवा सुरु गर्न सकेको छैन ।

मंसिर ८, २०८२

लक्ष्मी गौतम

Panchthar Hospital, run by a team of doctors

What you should know

पाँचथर — पाँचथर जिल्ला अस्पतालमा ५० शय्यासहितको सेवा सञ्चालन गर्न सक्ने पूर्वाधार भए पनि सरकारले १५ शय्याको मात्र स्वीकृति दिएको छ ।

२०७४ सालमै प्रदेश सरकारले जिल्ला अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गर्ने निर्णय गर्दै बजेट उपलब्ध गराएपछि २२ करोडको लागतमा नयाँ भवन निर्माण भएको थियो ।

भवन निर्माण सम्पन्न भई २०८० मंसिर २९ मा उद्घाटन भए पनि आवश्यक उपकरण र दक्ष जनशक्ति नहुँदा पूर्ण क्षमतामा सेवा सुरु हुन सकेको छैन ।

हाल अस्पतालमा ९७ जना कर्मचारी कार्यरत छन् । जसमा ४० जना अस्पताल विकास समितिबाट नियुक्त हुन् । हाडजोर्नी तथा नसा, जेनरल सर्जरी, बालरोग र एनस्थेसिया गरी फाँच विशेषज्ञ चिकित्सकमध्ये तीन जना सरकारी दरबन्दीका र दुई जना समितिबाट नियुक्त छन् । यति जनशत्तिले अस्पतालले हाल ६६ शय्या सञ्चालन भइरहेको छ ।

स्वीकृत क्षमताभन्दा चार गुणा बढी बिरामी भर्ना गरी जेनतेन सेवा दिँदै आएको अस्पतालले चित्तबुझ्दो सुविधा दिन नसकेको सेवाग्राहीको  गुनासो छ । ‘सामान्य परीक्षण गर्न घण्टौं कुर्नुपर्छ । रगत र पिसाब परीक्षणको रिपोर्टका लागि १० बजेदेखि ३ बजेसम्म लाग्छ’, फालेलुङ–५ का डम्बरबहादुर मगर भन्छन्, ‘सामान्य विरामीलाई पनि रेफर गरिन्छ । भवन भए पनि उपकरण र विशेषज्ञ जनशक्ति आवश्यक छ ।’

भवन छ, सेवा छैन

फालेलुङ गाउँपालिकामा ५ शय्याको अस्पताल भवन बनेर एक वर्ष पुगिसक्दा पनि जनशक्ति र उपकरण अभावमा सेवा सुरु हुन सकेको छैन । अहिले त्यही भवनमा उपस्वास्थ्य चौकी संचालन भइरहेको छ ।

पाँचथरको मिक्लाजुङ र हिलिहाङ गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा छन् । दुवैमा एक–एक जना चिकित्सकसहित स्वास्थ्यकर्मी कार्यरत छन् । कुम्मायक गाउापालिकाले निर्माणाधीन १५ शय्याको अस्पतालका लागि चिकित्सकको पदपूर्ति गरिसकेको छ भने फाल्गुनन्द गाउँपालिकाले ५ शय्याको अस्पताल सञ्चालनका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।

हिलिहाङ र याङवरकमा नयाँ अस्पताल भवन निर्माण भइरहेको छ । तर निर्माण व्यवसायीको ढिलासुस्ती र बजेट अभावले काम अघि बढ्न सकेको छैन । हिलिहाङ–३ का मदन गौतम भन्छन्, ‘अस्पताल भवन र डाक्टर छन्, तर उपकरण नहुँदा सामान्यबाहेकका बिरामी जिल्ला अस्पताल रेफर हुन्छन् ।’ 

तुम्बेवा गाउँपालिकाले ५ शय्याको आधारभूत अस्पताल निर्माण प्रक्रिया सुरु गर्न सकेको छैन । शिलान्यास भइसके पनि जग्गा व्यवस्थापनमा समस्या परेपछि निर्माण अघि बढ्न नसकेको अध्यक्ष बाबुराम खड्काले बताए । ‘जग्गा व्यवस्थापन पूरा गरेर अस्पताल सञ्चालन गर्न निरन्तर प्रयासमा छौं,’ उनले भने । जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाले आवश्यक सबै सेवा दिन नसक्दा स्थानीय धरान, विराटनगर, बिर्तामोडदेखि भारतको सिलिगुडीसम्म पुगेर उपचार गराउन बाध्य छन् । 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully