खोटाङमा छैन प्रभावकारी स्वास्थ्य सेवा

समयमा भवन निर्माण नसकिँदा जिल्ला अस्पताल खोटाङ ५० शय्या विस्तार गर्ने लक्ष्य पूरा हुन सकेको छैन ।

मंसिर ८, २०८२

डम्बरसिं राई

Khotang lacks effective health services

What you should know

खोटाङ — खोटाङमा स्वास्थ्य सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा उपचारका लागि अन्य जिल्लातर्फ धाउन बाध्य छन् ।

समयमा भवन निर्माण नसकिँदा जिल्ला अस्पताल खोटाङ ५० शय्या विस्तार गर्ने लक्ष्य पूरा हुन सकेको छैन । गत असार २२ मा ५० शय्याको अस्पताल उद्घाटन भए पनि भवन निर्माणमा ढिलाइ हुँदा अहिले पनि १५ शय्याको पुरानै संरचनाबाट सेवा दिइनु परेको निमित्त प्रमुख डा. रूपेश संग्रौलाले बताए । 

उनका अनुसार प्रदेश सरकारले सेवा विस्तारका लागि ४ करोड, आइसीयूका लागि ७७ लाख, ब्लड बैंकका लागि २० लाख, शववाहनका लागि २० लाख बजेट उपलब्ध गराएको छ । तर भवन नबन्दा अन्य सामग्री व्यवस्थापनको प्रक्रिया बढाउन सकेको छैन । अस्पताललाई निःशुल्क औषधि  उपलब्ध २८ लाख भने इबिडिङ भइसकेको छ ।

संघीय सरकारको २२ करोड ९० लाख ४७ हजार बजेटमा ३० महिनाभित्र भवन निर्माण गर्ने जिम्मा २०७८ असारमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले लिएको थियो । तर, निर्माण नसक्दा अस्पताललाई टहराबाटै सेवा दिनुपरेको डा. संग्रौलाको भनाइ छ । ‘बजेट फ्रिज हुने बेला भइसक्यो, सेवा विस्तार त परै जाओस्,’ उनले भने । 

निर्माण ढिलाइबारे पटक–पटक ताकेता गर्दा पनि काम अगाडि नबढेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई बताउँछन् । यसैबीच, प्रमुख जिल्ला अधिकारीको पहलमा मंसिर ३ मा भएको छलफलमा निर्माण व्यवसायीले आगामी माघभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईका अनुसार मंसिर पहिलो साताभित्र कार्यतालिका बुझाउने, पुस १४ मा पुनः प्रगति समीक्षा गर्ने र काम सन्तोषजनक नभए कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ । जिल्ला अस्पतालमा हाल ८ डाक्टरसहित २६ स्वास्थ्यकर्मी कार्यरत छन् । उपचार सेवा कमजोर हुँदा कहिलेकाहीँ विरामीले हेलिकोप्टर चार्टर गरेर बाहिर उपचार गर्नुपर्ने अवस्था आएको प्रमुख राईले बताए ।  

जान्तेढुङ्गा गाउँपालिकामा रहेको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमाको उपचारसहित फार्मेसीसहित संचालन गरेको छ । दैनिक २०–२५ विरामी आउने यहाँ पोष्टमार्टमको सुविधा भएकाले सदरमुकाम लैजानुपर्ने झन्झट हटेको उपाध्यक्ष खेमबहादुर खड्काले बताए ।

ऐसेलुखर्क गाउँपालिकामा ५ शय्याको सुविधा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याब, एक्स–रे, भिडिओ एक्स–रे, २४ घण्टे इमर्जेन्सी तथा प्रसूति सेवा उपलब्ध छ । यहाँ रेबिज भ्याक्सिन लगाउने सुविधा पनि भएकाले छिमेकी पालिकाका बिरामी पनि आउने गरेका छन् ।  पछिल्लो समय सेवामा सुधार आएको स्वास्थ्य शाखा प्रमुख सचिन श्रेष्ठ बताउँछन् ।

हलेसी तुवाचुङ नगरपालिकाकाे छापडाँडास्थित नगर अस्पतालमा ल्याब, एक्स–रे, भिडिओ एक्स–रेसहित ५ शय्याको सुविधा छ । नगरकै स्रोतबाट १२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । रेबिज भ्याक्सिनदेखि प्रसूति सेवासहित निःशुल्क एम्बुलेन्स उपलब्ध हुँदा बिरामीलाई सहज भएको नगर प्रवक्ता कमल गिरीले बताए ।

खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी आधारभूत अस्पतालमा एक्स–रे, भिडिओ एक्स–रे, ल्याबसहित ५ शय्या संचालनमा छ । दरबन्दी अभावका कारण अधिकांश कर्मचारी करारमा राखिएको छ । पोष्टमार्टको सुविधा भएकाले स्थानीयलाई धेरै सहज बनाएको वडाअध्यक्ष वसन्त राईले बताए । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको याम्खास्थित आधारभूत अस्पतालमा ल्याब र भिडिओ एक्स–रेसहित ५ शय्याको सेवा उपलब्ध छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully