जनशक्ति अभाव झेलिरहेको इनरुवा अस्पताल

लामो समय अस्पताल प्रशासन र व्यवस्थापन समिति बीचको विवादले सेवा प्रभावित बनेकाे इनरुवा अस्पतालले अहिले सेवा विस्तार गरेको छ।

मंसिर ८, २०८२

अर्जुन सुवेदी

Inaruwa Hospital facing manpower shortage

What you should know

सुनसरी — राजनीतिक हस्तक्षेप, प्रशासनिक विवाद र अव्यवस्थित व्यवस्थापनका कारण वर्षौंदेखि अस्तव्यस्त बन्दै आएको सुनसरी सदरमुकामस्थित इनरुवा अस्पताल पछिल्ला वर्षमा लयमा फर्किन थालेको छ ।

सेवा सुधारसँगै बिरामीको भरोसा बढे पनि जनशक्ति अभाव भने अझै उस्तै छ । लामो समय अस्पताल प्रशासन र व्यवस्थापन समिति बीचको विवादले सेवा प्रभावित बनेकाे इनरुवा अस्पतालले अहिले सेवा विस्तार गरेको छ ।

उपचारमा सुधार आएसँगै बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेको मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुर बताउँछन् । ५० शय्याको यो अस्पतालबाट सुनसरीका आधा दर्जन स्थानीय तहका बासिन्दाले सेवा लिन्छन् ।

पछिल्लो समय सप्तरी, उदयपुर तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । विराटनगर वा धरान धाउनुपर्ने बाध्यता कम हुँदै गएको भए पनि, आवश्यक दरबन्दीअनुसार जनशक्ति नहुनुले सेवा प्रवाहमा चुनौती बढेको डा. ठाकुरले बताए । 

अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकका लागि स्थायी दरबन्दी रहे पनि हाल २ जना मात्र स्थायी रूपमा कार्यरत छन् । मेडिकल सुपरिटेन्डेन्ट ठाकुर स्वयं र बालरोग विशेषज्ञ डा. अमरेश कुमार कुशवाह । अन्य अर्थोपेडिक, स्त्रीरोग, जनरल सर्जरी, दन्तसहितका विशेषज्ञलाई अस्पताल व्यवस्थापन समिति र छात्रवृत्ति करारमार्फत सम्हाल्नुपर्ने बाध्यता छ । यौन तथा छाला रोग तथा एनेस्थेसिया विशेषज्ञको दरबन्दी भने रिक्त छ ।  दुवै पदका लागि आवेदन मागिसकिएको अस्पतालले जनाएको छ ।

विशेषज्ञसहित कुल ५९ स्थायी दरबन्दीमध्ये अहिले २८ जनामात्र कार्यरत छन् । अरू ५३ जना कर्मचारी अस्पताल व्यवस्थापन समितिबाट करारमा नियुक्त छन् । प्रदेश लोक सेवा आयोगले दरबन्दी पूर्तिका लागि चिकित्सक पठाउन ढिलाइ गरेकाले अभाव थपिएको अस्पताल प्रशासनको गुनासो छ ।

दैनिक औसत ६ सय बिरामी उपचारका लागि आउने यस अस्पतालमा वार्षिक १ लाख २७ हजारले सेवा लिने गरेका छन् । जसमा बहिरंगतर्फ १ लाख ५ हजार १ सय २४, आकस्मिकतर्फ १९ हजार ४ सय ९ र भर्ना भएका २ हजार ३ सय ११ बिरामी रहेका अस्पतालको तथ्यांक छ ।

भवन विस्तार, जनशक्ति पूर्ति र स्वास्थ्य बिमाको भुक्तानी समयमै हुने हो भने सेवा अझै प्रभावकारी बनाउन सकिने डा. ठाकुर बताउँछन् । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको न्यूनतम सेवा मापदण्डमा ८६ प्रतिशत अंक हासिल गरेको इनरुवा अस्पताल संरचना र स्रोत अभावका बाबजुद सेवा विस्तारमा जुटिरहेको छ ।

अर्जुन

Link copied successfully