वीपी प्रतिष्ठानमा घण्टौं लाइनले बिरामीलाई सास्ती

अनलाइनबाट रजिस्ट्रेशन तथा बिल काट्ने व्यवस्था भए पनि सेवा लिन सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।

मंसिर ८, २०८२

एलिना राई

Hours-long queues torment patients at VP Institute

What you should know

काठमाडौँ — धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनलाइन सेवा सुचारु भएको पाँच वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वयन हुन भने सकेको छैन ।

अनलाइन रजिस्ट्रेशन तथा बिल काट्ने व्यवस्था भए पनि सेवा लिन सर्वसाधारणले घण्टौं लाइन बस्नुपर्ने बाध्यता छ ।

दैनिक हजारौं बिरामी आउने प्रतिष्ठानमा टिकट, परीक्षण, परामर्शदेखि फार्मेसीसम्म सबै काउन्टरमा लामै लाइन लाग्छ । बिहान ६ बजेदेखि नै टिकट काउन्टर अगाडि भीड बढ्न थाल्छ । अनलाइन प्रणाली जटिल लाग्ने, भाषा नबुझिने र प्रक्रिया थाहा नपाउने अधिकांश बिरामी काउन्टरमै निर्भर छन् । 

जेष्ठनागरिक, गर्भवती, अपांगता भएका व्यक्ति तथा टाढाबाट आएका बिरामीको पीडा झन् दर्दनाक छ । बीच–बीचमा सर्भर डाउन हुने समस्याले उनीहरूले थप सास्ती भोग्नु पर्छ । ‘बिहान ५ बजे लाइनमा उभिएर ९ बजे मात्रै टिकट पाइयो’, स्थानीय भुवन राईले सुनाए ।  

बराहक्षेत्र–७ की शोभा राई स्वास्थ्य बिमाको झन्झटिलो प्रक्रियाबाट बच्न ओपीडी मार्फत उपचारमा होमिएकी थिइन् । तर, त्यहाँ पनि लामै लाइन थियो । जसले अझै ढिलाई हुँदा उनी निरास देखिन्थिन् । ‘लाइन बस्दै समय बित्छ, उपचारभन्दा बढी लाइनकै चिन्ता हुन्छ,’ उनले गुनासो गरिन् ।  

अनलाइन सेवा भए पनि प्रविधि र प्रणाली अपडेट नहुँदा बिरामीलाई सास्ती हुने गरेको छ । ‘धेरैलाई अनलाइनमार्फत टिकट, बिल वा डाक्टरको अपोइन्टमेन्ट लिनै गाह्रो परेको छ,’ धरानकी पुनम राई भन्छिन्, ‘अंग्रेजी बुझिन्न, अनलाइन झनै झन्झटिलो लाग्छ ।’

दैनिक क्षमताभन्दा दोब्बर बिरामी सेवा दिनुपर्ने भएकाले चाप व्यवस्थापन चुनौती बनेको प्रतिष्ठानले जनाएको छ । इमर्जेन्सीमा मात्र दैनिक ४–५ हजार बिरामी आउने प्रतिष्ठानकी प्रवक्ता डा. अञ्जु प्रधान बताउँछिन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या नबढ्दा सेवामा ढिलाइ स्वाभाविक रूपमा बढेको उनी स्वीकार्छिन् । बिरामीको भापका कारण भिडियो एक्स–रे, एक्स–रे, सिटी स्क्यान, ल्याबलगायतमा असाधारण चाप छ ।सिटी स्क्यानका लागि हप्तौं कुर्नुपर्ने अवस्था छ । एमआरआई मेसिन नहुँदा गम्भीर अवस्थाका बिरामी निजी र महंगो अस्पताल धाउन बाध्य छन् । सप्तरीका जयकृष्ण नारायण यादव टाढाका बिरामीले दिनहुँ अस्पताल धाउनुपर्ने बाध्यता परेको गुनासो गर्छन् ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully