धनकुटामा अस्पताल निर्माणको काम रोकिएपछि १५ दिनभित्र सुरु गर्न पूर्वाधार विकास कार्यालयको निर्देशन

भवन निर्माणका लागि तोकिएको म्याद आगामी २०८३ असारसम्म मात्रै छ । सम्झौताको साढे दुई वर्षमा भवन निर्माणको काम जम्मा ४० प्रतिशत मात्रै पूरा भएको छ ।

मंसिर ६, २०८२

विनोद घिमिरे

Infrastructure Development Office directs to start hospital construction in Dhankuta within 15 days after work stalled

What you should know

काठमाडौँ — ठेकदार कम्पनीको अलमलका कारण धनकुटामा निर्माणाधीन अस्पताल भवनको निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ । धनकुटा नगरपालिका-७ स्थित रेशम खेती विकास कार्यालयको नाममा रहेको २४ रोपनी जग्गामा जिल्ला अस्पताल धनकुटाको पाँचतले सुविधासम्पन्न भवन बन्न लागेको हो ।

भवन निर्माणका लागि कोशी प्रदेश सरकारको तत्कालीन सहरी विकास तथा भवन कार्यालयले २८ करोड ३६ लाख ५२ हजार रुपैयाँमा नमुना कन्सट्रक्सन प्रालिसँग २०८० असारमा ठेक्का सम्झौता गरेको थियो । भवन निर्माणका लागि तोकिएको म्याद आगामी २०८३ असारसम्म मात्रै छ । सम्झौताको साढे दुई वर्षमा भवन निर्माणको काम जम्मा ४० प्रतिशत मात्रै पूरा भएको छ ।

लिफ्टसहितको आधुनिक सुविधा सम्पन्न पाँचतले भवनको अहिलेसम्म तीनतलाको स्ट्रक्चर मात्रै पूरा भएको छ । तत्कालीन सहरी विकास तथा भवन कार्यालय अहिले पूर्वाधार विकास कार्यालयमा समाहित भएको छ । भवन निर्माणमा ढिलासुस्ती भएको गुनासो आएपछि पूर्वाधार विकास कार्यालय धनकुटाले निर्माण कम्पनीलाई असारदेखि रोकिएको काम १५ दिनभित्र सुरु गर्न निर्देशन दिएको छ ।

‘समयसीमाभित्रै काम सक्ने आधार प्रस्तुत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको कार्यालयका निमित्त प्रमुख उत्तम नारायण खरेलले बताए ।

भवन निर्माणको जिम्मा पाएको नमुना कन्सट्रक्सनका प्रतिनिधि मुरारी अधिकारीले काममा केही ढिलाइ भए पनि समयसीमाभित्रै परियोजना सम्पन्न गर्ने प्रयत्नमा रहेको बताए । जनशक्ति र उपकरण थप गरेर समयसीमामै आयोजनाको काम पूरा गर्ने उनको भनाइ छ ।

Infrastructure Development Office directs to start hospital construction in Dhankuta within 15 days after work stalled

गत आर्थिक वर्षमा अपेक्षाअनुसार काम अघि नबढ्दा विशेष अनुदानबाट प्राप्त १४ मध्ये ४ करोड रुपैयाँ मात्रै खर्च भएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख खरेलको भनाइ छ । चालु आर्थिक वर्षका लागि भने ६ करोड ६५ लाख रुपैयाँ विनियोजन भएको छ ।

४० प्रतिशत भौतिक प्रगति देखिएको आयोजनाका लागि कार्यालयले निर्माण कम्पनीलाई ३४ प्रतिशत् अर्थात् ९ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

कोशी प्रदेश सरकारले २०७८ सालमै १५ शय्या क्षमताको धनकुटा अस्पताल स्तरोन्नति गरी सय शय्याको बनाउाने निर्णय गरेको थियो । अस्पताल स्तरोन्नतिको निर्णय भएको ४ वर्षपछि गत असोजमा प्रादेशिक शिक्षण अस्पताल सञ्चालनका लागि कोशी प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully