कारागारमा कैदीबन्दीको मृत्युका घटना किन बढिरहेका छन् ?

झापा, सुनसरी र मोरङका कारागारमा कैद भुक्तान गरिरहेकामध्ये साउनयता ८ जना कैदीबन्दीले ज्यान गुमाइसकेका छन् । अधिकांश मृत्यु स्वास्थ्य जटिलता, ढिलो उपचार र कारागारभित्रको भीडभाड तथा कमजोर स्वास्थ्य सेवासँग जोडिएका छन्।

मंसिर ५, २०८२

पर्वत पोर्तेल

Why are inmate deaths in prisons increasing?

What you should know

विराटनगर — कोसी प्रदेशका विभिन्न जिल्लास्थित कारागारहरूमा पछिल्ला महिनामा लगातार कैदीबन्दीको मृत्यु भइरहेको छ। झापा, सुनसरी र मोरङका कारागारमा कैद भुक्तान गरिरहेकामध्ये साउनयता ८ जना कैदीबन्दीले ज्यान गुमाइसकेका छन् । अधिकांश मृत्यु स्वास्थ्य जटिलता, ढिलो उपचार र कारागारभित्रको भीडभाड तथा कमजोर स्वास्थ्य सेवासँग जोडिएको देखिन्छ ।

शुक्रवार बिहान झापा कारागारमा कैद भुक्तान गरिरहेका ६१ वर्षीय कर्णबहादुर लिम्बू अचानक उच्च रक्तचापका कारण अस्वस्थ भए । उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भयो ।

२४ कात्तिकमा झुम्का कारागारको ‘बी’ बन्दी गृहमा ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएका थिए । इनरुवा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो । सरदार मधुमेहका नियमित औषधि सेवन गर्थे । मानव बेचबिखन मुद्दामा १० वर्षको सजाय काटिरहेका उनी झुम्कामै रहेर उपचार पाइरहेका थिए ।

मोरङ कारागारमा कात्तिक ७ र १४ मा क्रमशः दुई कैदीबन्दीको मृत्यु भयो । कारागार प्रशासनका अनुसार दुवै जनामा शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समान लक्षण देखिएको थियो । २० वर्षीय मुस्कान दनुवार, जबरजस्ती करणी मुद्दामा १२ वर्षको कैद भोगिरहेका थिए । कोसी अस्पतालमा भर्ना भइसकेपछि उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख गौरव ढुंगेलले जनाए ।

३२ वर्षीय जितप्रसाद सापकोटा, लागुऔषध मुद्दामा दोषी, शरीर सुन्निने समस्या भएपछि कोसी अस्पताल हुँदै नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएका थिए । कात्तिक ८ गते राति उनको मृत्यु भएको थियो । मोरङ कारागारमा अहिले १ हजार एक सयभन्दा बढी कैदीबन्दी छन् । साउनदेखि ६ जना कैदीबन्दीले ज्यान गुमाइसकेको कारागार प्रशासनले जनाएको छ ।

सबै कारागारमा क्षमताभन्दा दोब्बर–तेब्बर कैदीबन्दी छन् । भीडभाडका कारण अनेक किसिमका रोग संक्रमण, दबाब र स्वास्थ्य जोखिम बढिरहेका विज्ञहरूको भनाइ छ । मृत्युको अर्को मुख्य कारण समयमै उपचार नपाउनु हो । अचानक स्वास्थ्य समस्या देखिए पनि तुरुन्त एम्बुलेन्स, विशेषज्ञ सेवा वा आकस्मिक उपचार नपाउने स्थिति धेरैजसो कारागारमा छ । जसका कारण मृत्युका घटना बढिरहेको अधिकारकर्मीहरूको भनाइ छ ।

कारागारहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला खराबी लगायतका समस्या भएका कैदी धेरै छन् । नियमित निगरानी र औषधि सेवन नगर्दा उनीहरूको ज्यान जाने गरेको पाइन्छ । कारागारहरूमा पनि पर्याप्त चिकित्सक, नर्स, स्वास्थ्य उपकरण वा औषधि छैनन् । केही कारागारमा स्वास्थ्य उपचार कक्ष मात्रै औपचारिकताजस्तै देखिन्छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully