चितुवालगायत वन्यजन्तुबाट स्थानीयले क्षति व्यहोरिरहे पनि डिभिजन वन कार्यालय खोटाङसँग कुनै तथ्यांक छैन ।
What you should know
खोटाङ — खोटाङमा चितुवा र बाँदरको आतंकले स्थानीय किसान आजित छन् । यी वन्यजन्तुले किसानका बालीनाली मात्रै हैन, घरपालुवा चौपाय समेतमा क्षति पुर्याउँदै आएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका स्थानीय अगुवा कुमार बुढाथोकीका अनुसार चितुवाले ठूलो संख्यामा गोरु, गाई, भैसी, खसी–बाख्रालगायत चौपायामा क्षति गर्दै आएकाे छ ।
उनका अनुसार गत असारयता चितुवाले पूर्णबहादुर खत्रीको एक हल गोरु र ८ बाख्रा, हेमराज कार्कीको १ गाई र ५ बाख्रा, मनकला माझीको एक लैनो गाई र ३ बाख्रा, कुलबहादुर मगरको एक पाडी र ४ बाख्रा मारेकाे छ । त्यसैगरी, तुलसा बुढाथोकीका ४२ खसी–बाख्रा, रोशन खत्रीका २ खसी र १ बाख्रा, पुण्य रेग्मीका ८ बाख्रा–बोका, देवराज बुढाथोकीका ३ बाख्रा, साबित्रा खत्रीका ४ बाख्रा, भुवन मगरका ३ बाख्रा, सीता माझीका २ बाख्रा, रमेश माझीका २ बाख्रा, दीपेन्द्र राईका ५ बाख्रा, तिलकबहादुर राईका २ बाख्रा, परशुराम राईका ३ बोका, टंकनाथ रेग्मीका १ खसी र १ बाख्रा, बान्दीप बुढाथोकीका २ बाख्रालगायत थुप्रै घरपरिवार प्रभावित छन् ।
चितुवालगायत वन्यजन्तुबाट स्थानीयले क्षति व्यहोरिरहे पनि डिभिजन वन कार्यालय खोटाङसँग भने कुनै तथ्यांक छैन । ‘क्षति भएको सुन्नमा त आएको छ, तर आधिकारिक जानकारी वा क्षतिपूर्तिका लागि निवेदन दिन आउने ज्यादै न्यून छन्,’ डिभिजनल वन अधिकृत उदिमप्रसाद राईले भने,‘निवेदन नआएसम्म हामीलाई थाहै हुन्न ।’ उनका अनुसार बिमाका लागि भने एक जनाले मात्रै सिफारिस माग गरेका छन् । हलेसी तुवाचुङ–११ की तुलसा बुढाथोकीले पाँच वटा बोयर जातका बाख्रा क्षति भएको निवेदन दिएपछि सगरमाथा लुम्बिनी इन्साेरेन्स कम्पनीलाई बिमाकाे रकम भुक्तानीका लागि सिफारिस गरिएको उनले जानकारी दिइन् ।
त्यस्तै, बाँदरले मकै बाली नष्ट गरेको भन्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका प्रकाश भुजेलले क्षतिपूर्ति मागेपछि वन निर्देशनालय धरानमार्फत सिफारिस गरिएको राईले बताए । सोही नगरपालिका–२ सोल्माकी भक्तकुमारी राईले पनि बाँदरले मकै क्षति पुर्याएको भन्दै निवेदन दिएकी छन् । भक्तकुमारीको बाली क्षति सम्बन्धी तथ्य पुष्टिका लागि हाल जाँचबुझ भइरहेको अधिकृत राईले बताए ।
राईका अनुसार बालीमा नोक्सानी भए कृषि ज्ञान केन्द्रसहित प्रहरी र जनप्रतिनिधिको सिफारिस आवश्यक पर्छ भने, पशुचौपाया तथा पन्छीमा क्षति हुँदा पशु सेवा कार्यालयमार्फत सिफारिस प्रक्रिया अघि बढाउनुपर्छ ।
तर, प्रक्रिया झन्झटिलो भएको कारण किसान क्षतिपूर्ति दाबी गर्नै जादैनन् । ‘किसानले यति धेरै कागजी प्रक्रिया पूरा गर्नै सक्दैनन्, क्षति भएको खबर पाएपछि सम्बन्धित कार्यालयका कर्मचारी नै फिल्डमा आउनुपर्छ,’ बुढाथोकीले भनिन्,‘यसतर्फ सम्बन्धित कार्यालय र स्थानीय सरकारले पनि ध्यान दिन आवश्यक छ ।’
