बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र कोशी गाउँपालिकालगायतका क्षेत्रमा पाक्न लागेकाे धानबालीमा ठूलो नोक्सानी गरेकाे हो ।
What you should know
धरान — सुनसरीका विभिन्न स्थानमा पछिल्लो समय जंगली हात्तीको ठूलो समूह लगातार बस्ती र खेतबारीमा पसेपछि स्थानीय किसान आतंकित हुने गरेका छन् ।
बराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका र कोशी गाउँपालिकालगायतका क्षेत्रमा पाक्न लागेकाे धानबालीमा ठूलो नोक्सानी भएको हो । बराहक्षेत्र–२, ३, ४, ५, ६ र ७ का जब्दी, सिमरवना, नडाहालगायतका क्षेत्रमा भारतबाट आएका ५० भन्दा बढी हात्ती राति–राति बस्ती छिर्दै धान, तरकारी र फलफूल बाली नष्ट गरिरहेका छन् ।
बराहक्षेत्र–२ का युवक बस्नेत, विज्ञान थापा, हेमराज बिष्टलगायतका किसानका झण्डै ५ बिघा क्षेत्रफलका धानबाली हात्तीले मिचिदिएका छन् । बस्नेत भन्छन्,‘यो वर्ष धानबाली सबै सकियो, खानका लागि चामल किन्नुपर्ने अवस्था आयो । दुई लाखभन्दा बढी क्षति भयो तर पाँच हजार क्षतिपूर्ति पनि नआउने रहेछ ।’
६५ वर्षीया दिलकुमारी लिम्बूको १० कठ्ठा धानबाली पनि हात्तीले नष्ट गरिदिएको छ । सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरे पनि उनले करिब एक वर्षपछि पाँच हजार रुपैयाँ मात्र क्षतिपूर्ति पाइन् । ‘न राहत छिटो आउँछ, न जनावर नियन्त्रण गर्न नै सरकारले पहल गर्छ’, उनले गुनासो पोखिन् ।
स्थानीयका अनुसार जिल्ला वन कार्यालयले हात्ती नियन्त्रणमा कुनै प्रभावकारी पहल देखाएको छैन । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार हात्तीले जब्दी, पुनर्बास, रेल्वे, नडाहा, सिमरवना, अमाहालगायत क्षेत्रमा लगातार क्षति पुर्याइरहेको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षका रेन्जर केदारप्रसाद दासका अनुसार जंगली जनावरका कारण गत वर्ष मात्र अढाई सय बिघा क्षेत्रको बालीमा क्षति पुगेको पुगेको छ । सोही वर्ष ३ सय १५ पीडितलाई १५ लाख ५० हजार ८ सय बराबरको क्षतिपूर्ति दर्ता भए पनि बजेट अभावले २ सय ६० जनालाई मात्रै रकम वितरण गरिएको उनले बताए ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीण श्रेष्ठका अनुसार जंगली जनावरका कारण बालीनालीमा भएको क्षतिको औपचारिक तथ्याङ्क नै छैन । किसानले राहत नपाउने थाहा भएकै कारण रिपोर्ट गर्न नआउने उनले बताए ।
