४५ सय क्षतिपूर्ति पाउन १४ महिना

सर्वसाधारणले भोग्ने हैरानीबारे आलोचना भइरहँदा डिभिजन वन कार्यालय झापाका अधिकारी भने मन्त्रिपरिषद्द्वारा पारित ‘वन्यजन्तुले पुर्‍याएको क्षतिको राहत वितरण निर्देशिका’मा तोकिएको कागजात पूरा गर्नैपर्ने बाध्यता भएकाले प्रक्रिया जटिल हुने गरेको जनाउँछन् ।

मंसिर ४, २०८२

नवराज सुवेदी

14 months to get Rs. 4500 compensation

What you should know

झापा — झापा मेचीनगर–४ बाहुनडाँगीका हेमप्रसाद पोखरेलले दुई विघा जमिनमा लगाएको मकैबाली २०८१ जेठमा हात्तीले नष्ट पारिदियो ।

मेची तरेर पसेको जंगली हात्तीको बथानले भाच्न तयार परेको मकैबाली सोत्तर बनायाे । मकै बालीमा भएको क्षतिपूर्ति माग गर्दै उनी सम्बन्धित निकाय धाउन थाले । सुरुमा क्षतिको विवरण बनाउन उनी स्थानीय प्रहरी चौकी पुगे । प्रहरी विवरण लिएर वडा कार्यालय र बाहुनडाँगीकै मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च पुगे ।

स्थानीय तहमा क्षतिको सम्पूर्ण विवरण तयार भएपछि पोखरेल पुगे मेचीनगर नगरपालिका कार्यालय । त्यहाँ तोक लगाइसकेपछि उनको यात्रा सोझियो डिभिजन वन कार्यालय भद्रपुरतिर । यो कार्यालय बाहुनडाँगीदेखि करिब ३० किलोमिटर टाढा छ । वन कार्यालयमा प्रक्रिया सहज थिएन । ‘वन कार्यालयमा काम सकेपछि फेरि नगरपालिकाको कृषि शाखामा आएर अर्को तोक लगाउनुपर्यो ।  कृषि शाखाबाट फेरि वन कार्यालय जानुपर्यो । वन कार्यालयको काम सकिएपछि धाइजनमा रहेको मेची सव–डिभिजन वन कार्यालय पुगे । उनले हैरानी सुनाए, ‘बल्लतल्ल फाइल बुझाएपछि दौडधुप त सकियो तर पैसा आउन एक वर्षभन्दा धेरै कुर्नुपर्‍यो ।’

यसरी प्रहरी चौकी, वडा कार्यालय, नगरपालिका, डिभिजन वन, सव डिभिजन वन कार्यालय धाएर १४ महिनापछि उनको हात पर्यो जम्मा ४ हजार ५ सय रुपैयाँ । ‘दौड्दादौड्दै करिब दुई हजार रुपैयाँ सकियो’, हेमप्रसादले थपे, ‘राहत पाउन यति धेरै हैरानी हुँदोरहेछ भन्ने जानेको भए छाडिदिन्थे ।’ 

२०७८ सालमै बाहुनडाँगीका रणबहादुर दाहाल र फूलमाया खड्काको घरजंगली हात्तीले भत्कायो । क्षतिको विवरणसहित आवश्यक कागजात बनाएर फाइल वडा कार्यालय–नगरपालिका हुँदै डिभिजन वन कार्यालय पुर्‍याइयो । तर, वन कार्यालयबाट फाइल नै हराएकाे उनीहरुले बताए । अहिलेसम्म उनीहरूले केही राहत पाएका छैनन् । सर्वसाधारणले भोग्ने हैरानीबारे आलोचना भइरहँदा डिभिजन वन कार्यालय झापाका अधिकारी भने मन्त्रिपरिषद्द्वारा पारित ‘वन्यजन्तुले पुर्‍याएको क्षतिको राहत वितरण निर्देशिका’मा तोकिएको कागजात पूरा गर्नैपर्ने बाध्यता भएकाले प्रक्रिया जटिल बन्ने गरेको जनाउँछन् । 

डिभिजन वन कार्यालय भद्रपुरका डिएफओ भरतबाबु श्रेष्ठ भन्छन्, ‘निर्देशिकामा के–के कागजात चाहिन्छ भनेर प्रष्ट उल्लेख छ । ती कागजात नपुगे राहत दिन मिल्दैन । यही कारणले प्रक्रिया अलि लामो भएको हुनसक्छ ।’ 

उनका अनुसार कार्यालयसँग पर्याप्त बजेट नहुँदा राहत वितरणमा ढिलाइ हुन पुगेको हो ।  आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का राहत चालु आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तमा आएर मात्र वितरण सकिएको उनले बताए । अब चालु आर्थिक वर्षका निवेदनका लागि राहत आउन अर्को आर्थिक वर्षसम्म कुर्नुपर्ने अवस्था छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्म चार महिनाभित्र करिब २ सय बढी निवेदन परेको कार्यालयले जनाएको छ । तीमध्ये दुईवटा निवेदन वन्यजन्तुको आक्रमणबाट मृत्यु सम्बन्धी छन् भने बाँकी बाली नोक्सानी, घर क्षति, व्यक्ति घाइतेलगायत छन् । 

इलाममा चितुवाबाट क्षति धेरै
झापासँग सीमा जोडिने इलामका सर्वसाधारणले सबैभन्दा धेरै चितुवाको आक्रमण व्यहोरिरहेका छन् । बेला–बेला हात्तीको ताण्डव पनि भोग्दै आएका छन् । गत वर्ष झापाबाट इलाम उक्लिएका हात्तीको आक्रमणबाट एक जनाको ज्यानै गयो । एक गम्भीर घाइते भए । खासगरी दक्षिणी इलामका रोङ, माइ र चुलाचुली क्षेत्रमा हात्तीको आक्रमण सहन स्थानीय बाध्य छन् । 

वन कार्यालय प्रमुख वीरेन्द्र साहका अनुसार गत वर्ष हात्तीकाे आक्रमणबाट ज्यान गुमाएका एक परिवारलाई १० लाख र घाइते एक जनालाई साढे २ लाख रुपैयाँ राहत उपलब्ध गराइएको थियो । गत वर्ष चितुवा आक्रमणका तीन घटना भएको वन कार्यालयको तथ्यांकमा छ । जसमा एक सूर्योदय नगरपालिका र दुई देउमाइ नगरपालिकामा भएको घटना हो । ‘खासगरी चुरेमाथिको महाभारत पहाड क्षेक्रमा चितुवाको आत्रमण तीब्र छ’, डिएफओ साहले भने,‘चितुवाले घरपालुवा चौपायमाथि आक्रमण गर्ने गरेको छ ।’ उनका अनुसार तीन वटै घटनाको निवेदन वन निर्देशनालयमा पठाइसकिएको छ । राहत रकमका लागि अझै केही समय कुर्नुपर्ने देखिन्छ ।  

नवराज

Link copied successfully