धनकुटा नगरपालिकाको दुई स्थानमा स्तनपान कक्ष संचालन 

मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुरक्षित, गोप्य र स्वच्छ वातावरणका साथ स्तनपान गर्ने सुविधा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

मंसिर ३, २०८२

विनोद घिमिरे

Breastfeeding rooms operating at two locations in Dhankuta Municipality

धनकुटा — धनकुटा नगरपालिकाले सेवाग्राही तथा सार्वजनिक स्थानमा आउने आमाहरूको सहजताका लागि नगरपालिका कार्यालय र बसपार्कमा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । 

मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सुरक्षित, गोप्य र स्वच्छ वातावरणका साथ स्तनपान गर्ने सुविधा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । धनकुटा नगरपालिकाका योजना प्रशासन तथा अनुगमन अधिकृत सीताराम गौतमले नगरपालिकामा सेवाग्राही, कर्मचारी महिला तथा बसपार्कमा यात्रु र सर्वसाधारणको सहजताका लागि स्तनपान कक्ष संचालनमा ल्याइएको बताए । स्तनपान कक्षमा आरामदायी बस्ने व्यवस्था, स्वच्छता सामग्री तथा आवश्यक गोपनीयताको व्यवस्था मिलाइएको गौतमको भनाइ छ । नगरपालिका परिसरमा स्थापित कक्षका लागि ९ लाख ५० हजार र बसपार्कमा रहेको कक्षका लागि १ लाख ५० हजार रुपैयाँ रकम खर्च भएको छ । 

सेवाग्राही तथा यात्रुले अब नगरपालिका कार्यालयमा कामकाज र यात्रा क्रममा बसपार्कमा प्रतीक्षा गर्ने समयमा सहज रूपमा शिशुहरूलाई स्तनपान गराउन सक्ने भएकाले यस्तो पहल गरिएको गौतमले बताए । 

नगरपालिकाले आगामी दिनमा अन्य सार्वजनिक स्थानहरूमा पनि यस्तो सुविधा विस्तार गर्ने योजना बनाएको बताएको छ ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully