‘ऐतिहासिक त्रिधार्मिकस्थलको संगमस्थल भएकाले हिन्दुहरूको आराध्यदेव हलेश्वर महादेव, बौद्धहरूको गुरु पद्मसम्भवले आयुको आराधना गरेको ठाउँ र किरातीहरूको उद्गमस्थलका रूपमा चिनिएको स्थल हो हलेसी ।’
खोटाङ — विश्व प्रसिद्ध हलेसीमा किरात सांस्कृतिक चुला घर अर्थात् माङखिम निर्माण गरिएको छ । हिन्दु, बौद्ध र किरातको त्रिधार्मिक स्थलका रूपमा परिचित हलेसीको बसाहागुफाअगाडि उक्त चुला घर निर्माण गरिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता तथा वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीका अनुसार आर्थिक वर्ष २०७५/७६ मा हलेसी तुवाचुङ नगरपालिकाको १५ लाख बजेटबाट डीपीआर र भवनको जग निर्माण गरिएको र आर्थिक वर्ष २०८१/८२ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३० लाख गरी ४५ लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको हो ।
‘ऐतिहासिक त्रिधार्मिकस्थलको संगमस्थल भएकाले हिन्दुहरूको आराध्यदेव हलेश्वर महादेव, बौद्धहरूको गुरु पद्मसम्भवले आयुको आराधना गरेको ठाउँ र किरातीहरूको उद्गमस्थलका रूपमा चिनिएको स्थल हो हलेसी,’ गिरीले भने, ‘त्यही भएर किरातीहरूको चुला घर निर्माण गरिएको हो, विश्वभरबाट आउने तीर्थालु भक्तजन तथा पर्यटकहरूले किरातीहरूको सांस्कृतिक चुला घर अवलोकन गर्न पाउनु हुने भएको छ ।’
उक्त भवन ढुंगा, माटो, झिगटी, काठ लगायतबाट पौराणिक तथा पुरातत्विक महत्त्वलाई ध्यानमा राखेर निर्माण गरिएको गिरीले बताएका छन् । चुला घरको माध्यमबाट किराती समुदायको सांस्कृतिक पक्ष बुझ्न मद्दत गर्ने गिरीले सुनाएका छन् । सुरुमा उक्त चुला घर निर्माणका लागि जग्गामा विवाद भएका कारण केही ढिलो भएको समेत गिरीले सुनाएका छन् ।
‘सुरुमा जग्गाका बारेमा केही विवाद भएको थियो, तर जनप्रतिनिधिहरू, हलेसी विकास समिति, मन्दिर समिति लगायतको पहलकदमीले विवाद समाधान गरी भवन निर्माण गरियो,’ गिरीले भने ।
