इटहरीबाट हराएकी मन्जुको शव सर्दु जलाधारमा, मृत्यु शंकास्पद

शव भेटिएको स्थान, फेला परेका सामग्री र हराएको समयबीचको मेलका कारण घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको डीएसपी राईले बताए।

मंसिर २, २०८२

एलिना राई

Body of Manju, who went missing from Itahari, found in Sardu watershed, death suspicious

What you should know

धरान — सुनसरीको  इटहरीबाट हराएकी मन्जु पौडेल निरौलाको शव पाँच दिनपछि धरान–४ स्थित सर्दु जलाधार क्षेत्रमा फेला परेको छ ।

इटहरी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीया मन्जु गत कार्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । मन्जु घर नफर्किएपछि परिवारजनले हराएको भनी इलाका प्रहरी कार्यालय इटहरीमा हुलिया निवेदन दिएका थिए । 

निवेदन दिएको तीन दिनपछि कार्तिक २७ गते धरान उपमहानगरपालिका वडा नं. ४ बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र सल फेला परेपछि प्रहरीले खोज तथा अनुसन्धान तीव्र पारेको थियो ।

उक्त पहिचान परिवारले मन्जुकै भएको पुष्टि गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टीकाराम खत्रीको कमाण्डमा ९ जनाको टोली घटनास्थलतर्फ पठाइएको थियो । धरान बजारदेखि करिब १३ किलोमिटर उत्तर–पूर्वमा पर्ने भएकाले खोजतलास गर्दा मंगलबार दिउँसो प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेतको नेतृत्वमा खटिएको अर्को टोलीले सर्दु जलाधार क्षेत्रको खोल्सामा मन्जुको शव मृत अवस्थामा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार मृत्युको घटना शंकास्पद देखिएपछि अनुसन्धान तीव्र पारिएको हो । शव भेटिएको स्थान, फेला परेका सामग्री र हराएको समयबीचको मेलका कारण घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको डीएसपी राईले बताए। उनले भने, ‘भौगोलिक अवस्था र शरीरको अवस्था हेर्दा घटना सामान्य जस्तो देखिँदैन, विस्तृत अनुसन्धान हुँदैछ ।’ मृत्युको कारण र घटनाको प्रकृति पोष्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि मात्र स्पष्ट हुने डीएसपी राईले बताए ।

शव फेला परेपछि अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न प्रहरी निरीक्षक जीवनकुमार कुँवरको नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो । कानुनी प्रक्रिया सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, धरानमा राखिएको छ ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully