याक्थुङ समुदायले आज चासोक तङनाम मनाउँदै, फुङलिङ नगरपालिकाले दियो बिदा

चासोक तङनाम मनाउन फुङलिङ नगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ ।

मंसिर १, २०८२

आनन्द गौतम

ताप्लेजुङ — याक्थुङ समुदायले आज चासोक तङनाम पर्व मनाउँदै छ। याक्थुङ चुम्लुङले केही वर्षदेखि मंसिर १ मा यो पर्व मनाउन थालेको हो। किरात याक्थुङ चुम्लुङले भने यसअघि मंसिर १८ मामात्रै यो पर्व मनाउदै आएको छ। चासोक तङनाम मनाउन फुङलिङ नगरपालिकाले आज सार्वजनिक बिदा पनि दिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलद्वारा आइतबार बेलुका निकालिएको सूचना अनुसार कार्तिक ३० गते बसेको ७६ औँ कार्यपालिका बैठकले बिदाको निर्णय गरेको हो ।

‘याक्थुङ चुम्लुङ धर्मावलम्बीहरूको महान चाड चासोक तङ्नामको पावन अवसरमा २०८२ मंसिर १ गते सोमबारका दिन नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, शिक्षण संस्थामा स्थानीय बिदा दिने र स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सेवाहरू बन्द रहने सबैमा जानकार गराइन्छ’ निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष हाङमाया लेछर्वो लिम्बू प्रकृति पूजक याक्थुङहरूले पाकेको अन्नबाली चोखो रूपमै चढाउनुपर्ने भएकाले पाँच वर्षदेखि मंसिर १ को दिन नै सामूहिक रूपमा चासोक मनाउन थालेको बताउँछिन् । ‘काठमाण्डौ, धरान लगायतका क्षेत्रमा पाँच–छ वर्षदेखि मंसिर १ मा मनाउन थालेको हो, हाम्रो ताप्लेजुङमा पनि चार वर्ष पुरा भई यस वर्षदेखि पाँचौँ वर्ष हुन्छ,’ लेछर्वोले भनिन् । बिहान पाकेको अन्न आफ्नो घरमा चढाउने, त्यसपछि सामूहिक रूपमा भेला भएर चढाउने, दिउँसो शुभकामना आदान–प्रदान गर्ने र बेलुका साँगीतिक तथा सांस्कृतिक कार्यक्रम गरिने लेछर्वोले जानकारी दिइन् । सदरमुकाम फुङलिङमा यो पर्व मनाइँदै छ ।

नेपाल सरकारले मंसिर १८ गतेलाई चासोक तङनाम पर्व मनाउन बिदा दिएको छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully