सुकेटार विमानस्थलमा साताकाे एकदिन शुक्रबार मात्रै हुँदै आएको उडान अब सोमबार पनि हुनेछ ।
ताप्लेजुङ — नेपाल एयरलाइन्सले ग्राउन्डेड ट्विनअटर जहाज मर्मत गरेपछि काठमाडाैं-ताप्लेजुङ उडान थप गरेकाे छ ।
यहाँकाे सुकेटार विमानस्थलमा साताकाे एकदिन शुक्रबार मात्रै हुँदै आएको उडान अब सोमबार पनि हुनेछ । स्थानीयले भने सातामा तीनदेखि पाँच दिन उडानका लागि अनुरोध गरेका छन् ।
एक पटकमा काठमाडाैंबाट १३ जनामात्रै यात्रु ताप्लेजुङ आउन सक्छन् भने ताप्लेजुङबाट १५ जनासम्म जान सक्छन् ।
जेष्ठनागरिक, अशक्त, बालबालिका, विरामीले धेरै यात्रा गर्ने भएकाले थप उडानको आवश्यक रहेको पाथीभरा क्याम्पस सञ्चालन समितिका अध्यक्ष समेत रहेकी शिला इजम बताउँछिन् । उनले भाडादरमा पनि केही समायोजन गर्न सके दुर्गम क्षेत्रका बासिन्दालाई राहत हुने बताइन् । गाडीमा यात्रा गर्न कठिन हुनेले हप्तौं कुरेर नेपाल एयरलाइन्सको जहाज पर्खने गरेका छन् ।
अहिले ताप्लेजुङ-काठमाडाैं भाडादर ९ हजार २ सय ६७ रुपैयाँ छ भने काठमाडाैं-ताप्लेजुङ ९ हजार ४ सय ६७ रहेको छ । ताप्लेजुङ-काठमाडाैंकाे उडान समय ५५ मिनेटको हुने गरेको छ ।
एयरलाइन्सका ताप्लेजुङ स्टेशन इन्चार्ज नारायणकुमार कार्की स्थानीयको माग अनुसार बुधबार पनि थप गर्ने विषयमा छलफल भइरहेको बताउँछन् । अहिलेकै अवस्थामा यात्रुको सङ्ख्यामा भने कमी नहुने उनले जानकारी दिए ।
निगमसँग दुई वटा ट्विनअटर जहाज हुँदा एउटाले पूर्व र अर्कोले पश्चिम नेपालमा उडान भर्दै आएकाे कर्मचारीहरु बताउँछन् । बिग्रेको जहाज मर्मतपछि एयरलाइन्सले आफ्ना दुवै ट्विनअटरमार्फत आन्तरिक व्यावसायिक उडान पुनः सुरू भएको जनाएको छ ।
