यो सडक निर्माण भएपछि जिल्लाको दक्षिणी क्षेत्र दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र वराहपोखरी गाउँपालिकाको सदरमुकाम दिक्तेलसँग यातायात सुविधा सहज हुने भएको छ ।
What you should know
खोटाङ — सदरमुकाम दिक्तेलदेखि दक्षिणी क्षेत्र जोड्ने खानीडाँडा–याम्खा रातमाटा–दिप्रुङ चुइचुम्मा–पञ्चमी सडकको कालोपत्रका लागि बोलपत्र आह्वान गरिएको छ । करिब ३० करोड रुपैयाँको सडक कालोपत्रे गर्ने गरी आइतबार बोलपत्र आह्वान गरिएको हो ।
पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख इन्जिनियर विनम दाहालका अनुसार कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको २९ करोड ९९ लाख ८७ हजार तीन सय ८९ रुपैयाँको लागतमा करिब ८ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको हो ।
उक्त योजनाका लागि २०८२ भदौ ३ गते बहुवर्षीय ठेक्काको स्रोत सहमति भएको थियो । ‘यो सडकको बोलपत्रका लागि आजै सूचना प्रकाशित भएको हो,’ दाहालले भने,‘अबको एक महिनापछि ठेक्का खुल्छ, अनि प्राविधिक र आर्थिक प्रस्ताव मूल्यांकनपछि सम्झौता हुन्छ ।’
खानीडाँडा-याम्खा रातमाटा-दिप्रुङ चुइचुम्मा-पञ्चमीसम्मको १५ किलोमिटर सडकका लागि ६२ करोडको लागत अनुमान भए पनि ३० करोडको मात्र स्रोत सुनिश्चित भएको दाहालले सुनाए । यसबाट ५० एमएमको मोटाइ, पाँच मिटर पाँच सेन्टिमिटर चौडाइ भएको ८ किलोमिटर अस्फाल्ट कङ्क्रिट सडक बन्ने दाहालले जनाएका छन् ।
यो सडक निर्माण भएपछि जिल्लाको दक्षिणी क्षेत्र दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र वराहपोखरी गाउँपालिकाको सदरमुकाम दिक्तेलसँग सीधा यातायात सुविधा सहज हुने भएको छ । बाँकी रहेको सडक निर्माणका लागि समेत संघीय सरकार र प्रदेश सरकारको समपूरक कोषबाट यसै आर्थिक वर्ष टेन्डर हुने कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताएका छन् ।
‘अहिले कोशी प्रदेश सरकारको ३० लाख बजेटबाट ८ किलोमिटरजति सडक निर्माण हुन्छ,’ राईले भने, ‘त्यसपछि फेरि संघीय सरकार र प्रदेश सरकारको समपूरक कोषबाट यसै आर्थिक वर्ष टेन्डर हुन्छ ।’
त्यसैगरी आइतबारै जन्तेढुङ्गा गाउँपालिका-१ देवीस्थानको रूवाफेदीस्थित बुवाखोलामा पक्की पुल र रावाबेसी गाउँपालिकाको वडा नं. १ कुभिण्डे र ६ हौचुर जोड्ने लोचा खोला मोटरेबल पुलको समेत ठेक्का लागेको छ । यसमध्ये बुवाखोला पुल २५ करोड र लोचा खोला पुल ५ करोड ११ लाख रुपैयाँको लागतमा निर्माण हुने गरी ठेक्का लागेको हो ।
