धनकुटामा ४२ करोड रुपैयाँ बराबरको बालीमा क्षति

धनकुटाका सात स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति पाख्रिबास, धनकुटा नगरपालिका र चौबीसे गाउँपालिकाका किसानले व्यहोर्नु परेको छ ।

कार्तिक २९, २०८२

विनोद घिमिरे

Crop damage worth Rs. 420 million in Dhankuta

धनकुटा — गएको असोज र कार्तिक तेस्रो साता परेको वर्षाका कारण धनकुटामा ४१ करोड ६८ लाख रुपैयाँ बराबरको बालीनाली नोक्सान भएको छ ।

वर्षा, हुरीबतास, बाढी र डुबानका कारण धनकुटामा २ हजार ६ सय ९ हेक्टरमा लगाइएको  १२ हजार ४ सय ४४ मेट्रिक टन धानमा क्षति पुगेको हो । धानबालीमा भएको क्षतिबाट ४१ करोड ५२ लाख ९९ हजार रुपैयाँ नोक्सान भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । 

धनकुटाका सात स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति पाख्रिबास, धनकुटा नगरपालिका र चौबीसे गाउँपालिकाका किसानले व्यहोर्नु परेको छ । स्थानीय तहबाट प्राप्त तथ्यांक अनुसार ४ हजार ५ सय ३० काटिसकेको, पाकेर काट्न बाँकी ७ हजार ७ सय ९३, कलिलो ढलेको ४ र पाक्न बाँकी रहेको ८६ मेट्रिक टन हरियो धानमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले जानकारी दिए । 

धानपछि सबैभन्दा बढी कोदो बालीमा क्षति पुगेको छ । धनकुटाको करिब १३ हेक्टर क्षेत्रफलमा लगाइएको ३० मेट्रिक टन कोदो बाली पनि नोक्सान भएको रानाको भनाइ छ । अन्न, दलहन र तेलहनबालीमा भएको क्षतिको विवरण संकलन गरी निर्देशनालयमार्फत कोशी प्रदेश सरकारलाई पठाइएको केन्द्रले जनाएको छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully