साकेला गाउँपालिकामा बाँसकला उद्योग स्थापना

स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सिर्जना गरी आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले उद्योग सुरु गरिएको हो ।

कार्तिक २७, २०८२

डम्बरसिं राई

Bamboo industry established in Sakela Rural Municipality

What you should know

खोटाङ — साकेला गाउँपालिकामा बाँसकलासम्बन्धी उद्योग स्थापना गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमअन्तर्गत गाउँपालिका प्रमुख रविप्रकाश राईले यसको औपचारिक उद्घाटन गरेका हुन् ।

स्थानीय स्रोत र सीपलाई उपयोग गर्दै रोजगारी सिर्जना गरी आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यले उद्योग सुरु गरिएको हो । ‘लघुउद्यम र उद्योगहरूले युवालाई स्वदेशमै रोजगार दिने वातावरण सिर्जना गर्न उद्योग स्थापना गरेका छौं,’ पालिका प्रमुख राईले भने, ‘बाँसकला उद्योगले गाउँपालिकाको पहिचान र आर्थिक प्रगतिमा टेवा पुर्‍याउने छ ।’ 

यो उद्योगबाट स्थानीय युवालाई सीपमूलक तालिम प्रदान गरी बाँसका विविध उपयोगका सामग्री उत्पादन र बजार विस्तारमा सहयोग गर्ने योजना बनाइएको छ । ‘नमुना सामग्री तयार गरेर त्यसलाई अन्यत्र बजारीकरण गर्न सकियो भने आम्दानीको स्रोत बन्न सक्छ,’ बुधबार उद्योगको औपचारिक उद्घाटन गर्दै राईले भने, ‘यसका लागि नागरिक आफैँ सिर्जनशील बन्नुपर्छ, सिर्जनात्मकताको जग बसाउन सकेमात्र परिवर्तन सम्भव छ ।’

दक्ष प्रशिक्षक बोलाएर सञ्चालन गरिएको तालिममा सहभागी उद्यमीहरूबाट उद्योग सञ्चालन गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । कोशी प्रदेश सरकार, कृषि उद्योग मन्त्रालयको बहुवर्षे योजनाअन्तर्गत स्थापना गरिएको उद्योगका लागि यस वर्ष १० लाख रकम उपलब्ध गराएको गाउँपालिकाका लेखा शाखा प्रमुख उत्तम आचार्यले बताए । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर राईको अध्यक्षतामा सञ्चालन गरिएको उद्योग स्थापना कार्यक्रममा वडा नम्बर–२ रतन्छाका वडाध्यक्ष जितेन्द्रकुमार राई, वडा नं. ३ का वडाध्यक्ष गोविन्द तामाङ, इलाका प्रहरी कार्यालय मात्तिम बिर्ताका प्रमुख प्रहरी नायब निरीक्षक फाइदलसिं लिम्बु, गाउँपालिकाका सूचना अधिकारी डीएम चाम्लिङ राई लगायत लघुउद्यमसँग सम्बन्धित स्थानीयको सहभागिता थियो । उद्योग स्थापनाका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा सबै वडाका उद्यमीलाई सहभागी गराएर बाँसकलासम्बन्धी तालिमसमेत सञ्चालन गरेको थियो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully