मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यसम्पादन र आन्तरिक असन्तुष्टिका कारण हालका मन्त्रीहरूलाई हटाएर नयाँ अनुहार ल्याउने तयारी गरेका हुन्।
What you should know
विराटनगर — मधेश प्रदेशमा मुख्यमन्त्री चयन विवाद बढिरहेका बेला, कोशी प्रदेशमा एमालेले मन्त्री फेरबदलको संकेत देखाएको छ। एमाले स्रोतका अनुसार दुई–तीन दिन भित्र वर्तमान मन्त्रीहरू बदलिने सम्भावना रहेको छ। कार्यसम्पादन र आन्तरिक असन्तुष्टिका कारण हालका मन्त्रीहरूलाई हटाएर नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ।
‘मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंसिरको पहिलो साताभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेका छन्’, उनले भने। पार्टी इन्चार्ज शेरधन राई र अध्यक्ष घनश्याम खतिवडा जिल्लामा व्यस्त भएकाले उनीहरू विराटनगर फर्किएलगत्तै नयाँ मन्त्रीहरूको टुंगो लाग्ने जनाइएको छ। हाल कोशी प्रदेश सरकारमा एमालेका तर्फबाट मुख्यमन्त्रीसहित पाँच मन्त्री र एक राज्यमन्त्री छन्।
वर्तमान मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर थापा मगर, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयअन्तर्गत राज्यमन्त्री सिर्जना राई रहेका छन्। कानुन मन्त्री भण्डारी बाहेक अन्य मन्त्री फिर्ता बोलाइने तयारी गरिएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विदुर लिंथेपले मन्त्री फेरबदलको तयारी भइरहेको पुष्टि गर्दै चाँडै नयाँ टोलीको घोषणा हुने संकेत दिएका छन्। नयाँ मन्त्रीका रूपमा झापाका तिलचन्द पाठक, धनकुटाका निरन राई र इन्द्रमणि पराजुली, सुनसरीका रामप्रसाद महतो र संखुवासभाका विदुर लिंथेपको नाम अघि बढेको छ।
महिला प्रतिनिधित्वका रूपमा सुनसरीकी मिना श्रेष्ठ पनि मन्त्री बन्ने दौडमा छिन्। उनले वन तथा पर्यटन मन्त्रालयको दावी गरेकी छन्, हाल यो मन्त्रालय काँग्रेसको जिम्मेवारीमा छ।
एमालेले यस पटक मन्त्री चयनमा भौगोलिक सन्तुलन, जातीय पहिचान र समावेशी ढाँचालाई ध्यानमा राखेर निर्णय गर्ने तयारी गरेको बुझिएको छ। प्रदेश सांसदका अनुसार, ‘अहिले मात्र एमालेका मन्त्री फेरिन्छन्। ६ महिनापछि पूर्व सहमति अनुसार कांग्रेसका उद्वव थापा मुख्यमन्त्री भएपछी अर्को मन्त्री मन्डल गठन हुनेछ। त्यो बेला एमाले तिलकुमार मेन्याङ्वोको नेतृत्वमा सरकारमा सामेल हुनेछ।’
