जिल्ला सुरक्षा टोलीले सीमाक्षेत्रको स्थलगत अवलोकन गरेको हो। टोलीले तीन वटा सीमा स्तम्भको निरीक्षण गरेको छ।
What you should know
संखुवासभा — संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथाङ्का नाकास्थित नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भहरूको निरीक्षण गरिएको छ। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाको नेतृत्वमा गएको जिल्ला सुरक्षा टोलीले सीमाक्षेत्रको स्थलगत अवलोकन गरेको हो। टोलीले तीन वटा सीमा स्तम्भको निरीक्षण गरेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक बाबुराम पौडेललगायतको टोलीले ६८, ६९ र ७० नम्बरका सीमा स्तम्भहरू निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी थपलियाले जानकारी दिइन्। उनका अनुसार संखुवासभा जिल्लामा हाल २१ वटा सीमा स्तम्भ रहेका छन्।
निरीक्षणका क्रममा गत जेठ महिनामा आएको बाढीले भोटखोला–१ स्थित घोङ्गोप्पा र छोकाङ खोलामा रहेको ७१/१ नम्बरको सीमा स्तम्भ बगाएर बेपत्ता बनाएको विषयमा पनि समीक्षा गरिएको थियो। सो स्तम्भ अहिलेसम्म फेला परेको छैन। भोटखोला गाउँपालिकाका वडा नं. १, २ र ३ सिधै चीनको भूभागसँग जोडिएका छन्।
सुरक्षा टोलीले सीमा स्तम्भ निरीक्षणसँगै खाँदबारी–किमाथाङ्का सडकखण्डमा पर्ने मतदान स्थल, बोर्डर आउट पोस्ट (बीओपी) किमाथाङ्का र विभिन्न प्रहरी चौकीहरू पनि अवलोकन गरेको थियो। साथै, चीनतर्फका काउन्टर पार्टहरूसँग सीमा सुरक्षा, सीमापारि अपराध नियन्त्रण, विपद् व्यवस्थापन र सूचना आदानप्रदानका विषयमा छलफल गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताइन्।
त्यस्तै, टोलीले भन्सार कार्यालय किमाथाङ्काको नाममा रहेको जग्गाको नापजाँच र चारकिल्ला निर्धारण गरी सुरक्षित गरेको छ। साथै, किमाथाङ्का अरुण, माथिल्लो अरुण र अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरी मुआब्जा, नागरिक सुनुवाइ, शान्ति–सुरक्षा, सडक अवस्था र स्थानीय सरोकारका विषयमा समेत छलफल गरिएको थियो।
