खाँदबारीका भित्तामा सिर्जनशील कला

नगरपालिकाले आकर्षक चित्रकलामार्फत सामाजिक सन्देश, स्थानीय पहिचान र विविधताको झल्को दिने पहल गरेको हो।

कार्तिक २६, २०८२

दीपेन्द्र शाक्य

Creative art on the walls of Khandbari

What you should know

संखुवासभा — खाँदबारी नगरपालिकाले नगर प्रवेशद्वार आसपासका झारपात, लेउ र धुलोले भरिएका खाली भित्ताहरूलाई सिर्जनशील कलाको माध्यमबाट रूपान्तरण गरेर कला, व्यवसायिकता र पर्यटन प्रवर्द्धनमा नयाँ पहल सुरु गरेको छ।

‘सफाइसँगै सौन्दर्य’ भन्ने नारा लिएर नगरपालिकाले स्थानीय कलाकारहरूको सहकार्यमा भित्ताहरूमा आकर्षक चित्रकलामार्फत सामाजिक सन्देश, स्थानीय पहिचान र विविधताको झल्को दिने काम सुरु गरेको हो।

नगर प्रवेशसँगै देखिने खाली पर्खालहरू पहिले फोहर थिए। अब ती भित्ताहरूमा रङ र कलाले यात्रु र स्थानीय दुबैको ध्यान तानेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाईँले भने, 'नगरको सौन्दर्य रङले होइन, विचार र समुदायको सहभागिताले हुन्छ। हामीले खाली रहेका यस्ता भित्तालाई कला, शिक्षा र आत्मनिर्भरताको माध्यम बनाएका छौँ।' उनका अनुसार यो सिर्जनशील अभियानको विशेषता भनेको स्थानीय कलाकारको संरक्षण र प्रवर्द्धनमा जोड दिएको हो।

चन्दनपुर नागेश्वरीका प्रतिभाशाली कलाकार ओम क्षितिज र उनको टिमले भित्ताहरूमा विविध सन्देशहरू उतारेका छन्। “यी कलाहरू चित्र मात्र होइनन्,” ओम क्षितिज भन्छन्, “समाज, संस्कृति र सामुदायिक सहअस्तित्वका प्रतिविम्ब हुन्। हामीले रङमार्फत हाम्रो पहिचान, हाम्रो संस्कृति र पर्यटनलाई उभ्याएका छौँ।”

नगरपालिकाले यो पहलमार्फत विद्यालयका विद्यार्थीहरूमा पनि सकारात्मक सन्देश दिन खोजेको छ। नगरप्रमुख महेश थपलियाले भने, “कला रुचिको विषय मात्र होइन, व्यवसायिक सम्भावना पनि हो। नगरले विद्यार्थीहरूलाई चित्रकला र सिर्जनशीलतालाई आत्मनिर्भरता र रोजगारीसँग जोड्ने अवसरका रूपमा हेरेको छ।” यसले विद्यार्थीहरूमा कला सिकेर पनि कमाई गर्न सकिने विश्वास जगाएको छ।

यति मात्र होइन, भित्ते कलाले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि योगदान पु¥याउने अपेक्षा गरिएको छ। नगरप्रमुख थपलियाले भने, “नगर प्रवेशमा अवस्थित यी कलात्मक भित्ताहरू अब आगन्तुकका लागि ‘फोटो स्पट’ बन्न थालेका छन्। यसले नगरको पहिलो छापलाई आकर्षक बनाउनुका साथै खाँदबारीलाई ‘कलामै बोल्ने सहर’को रूपमा परिचित गराउँदैछ।”

नगरको विविधता, भाषा, संस्कृति र जातीय सहअस्तित्वलाई रङ र रेखामार्फत प्रस्तुत गर्ने यो अभियानले बहुलताको प्रवर्द्धनलाई व्यवहारमा उतारेको छ। विभिन्न जात, भाषा र संस्कृतिको सामूहिक प्रतिविम्ब बनेका ती भित्ताहरूले ‘हाम्रो भिन्नता नै हाम्रो सुन्दरता हो’ भन्ने सन्देश दिएका छन्।

खाँदबारी नगरपालिकाको यो सानो प्रयासले स्थानीय सरसफाइ, सौन्दर्य, कला, पर्यटन र आत्मनिर्भरतालाई एउटै सूत्रमा गाँसेको छ। प्रमुख प्रशासकीय अधिकृत बजगाईँ भन्छन्, “यो केवल रङ र चित्रको कुरा होइन, यो सोच, सन्देश र आत्मविश्वासको विषय हो।” खाली भित्ताबाट सुरु भएको यो अभियान अब खाँदबारीको पहिचान बन्ने दिशामा अघि बढ्दैछ, उनले भने।

दीपेन्द्र

Link copied successfully