जरुवा, मुहान, कुवा र पँधेरा सुक्ने क्रम बढेर खानेपानी समस्या चर्कँदै गएको धनकुटामा पुनस्थापना, गुणस्तर सुधार र नयाँ गरी ६८ वटा खानेपानी आयोजना थप भएका छन् ।
धनकुटा — सहिदभूमि गाउँपालिका–६ की अम्बिका भण्डारीको घर सुन्तलाबारी गाउँमा छ । सुक्खाग्रस्त यो गाउँमा सधैंजसो पिउने पानीकै पिरलो छ ।
जरुवा मुहान, कुवा र पँधेरा सुकेपछि खोलाखोल्सी र खेतको पानीले गुजरा चलाउनु पर्ने भण्डारीको बाध्यता छ ।
यहाँको चाम्चा गाउँमा पनि खानेपानीको चर्को समस्या छ । ४५ वर्षदेखि स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको स्रोत सुकेको छ । घरसंख्या बढ्दै गएपछि भएका स्रोतले स्थानीयलाई पुग्न छाडेको छ ।
जरुवा, मुहान, कुवा र पँधेरा सुक्नेक्रम बढेर खानेपानी समस्या चर्कँदै गएको धनकुटामा पुनस्थापना, गुणस्तर सुधार र नयाँ गरी ६८ वटा खानेपानी आयोजना थप भएका छन् । करिब २५ करोड रुपैयाँ लागतका यी आयोजनाबाट धनकुटाका १७ हजार उपभोक्ता लाभान्वित हुनेछन् ।
स्रोत सुकेर समस्यामा परेका उपभोक्तामा संचालित आयोजनाले खानेपानी पाउने आश जगाएको सुन्तलाबारीकी भण्डारी बताउँछिन् । ‘घरमाथि पाखामा ट्याङ्की बनेको छ, पाइप पनि तानेर गाडीसके अब पानीको दुःख नहोला,’ उनले भनिन् । हिउँदबर्खा दुवै सिजनमा खानेपानीको समस्या हुने सुन्तलाबारीका बासिन्दा अब धाराको पानी बाह्रै महिना प्रयोग गर्न पाइनेमा आशावादी छन् ।
खानेपानीको यस्तै समस्या समाधानका लागि संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले धनकुटा, महालक्ष्मी र पाख्रीबास नगरपालिका तथा छथर जोरपाटी, चौबिसे, साँगुरीगढी र सहिदभूमि गाउँपालिकामा अभियानकै रुपमा भूमिगत र लिफ्ट प्रविधिमा आधारित खानेपानी आयोजना संचालन गरिरहेको छ ।
जलवायु अनुकुलन, खानेपानी तथा सरसफाई, सहलगानी र सेवा विस्तारमा आधारित सानाठूला ६८ वटा आयोजनाका १ सय ३२ वटा स्कीम संचालनमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनकुटाका इन्जिनियर अंकितमान श्रेष्ठले बताए ।
धनकुटामा संचालनको चरणमा रहेका ६८ मध्ये महालक्ष्मीको लेगुवा, छथर जोरपाटीको तेलिया–तांखुवा, सिंधुवा, चौबिसेको फलामेटार, साँगुरीगढीलगायतका स्थानमा १३ वटा लिफ्ट प्रविधिका आयोजना हुन्् । यी सबै आयोजनाले धनकुटाका १३ हजार घरधुरीका करिब १७ हजार उपभोक्तामा खानेपानी सुविधा थपिने इन्जिनियर श्रेष्ठले बताए ।
यीमध्ये केही आयोजना सम्पन्न भएर संचालनमा आइसकेका छन् । निर्माणाधीन आयोजनाले स्थानीय उपभोक्तमा थप उत्साह थपेको चौविसे गाउँपालिकाको हंसमोरङकी गंगा बस्नेत सुनाउँछिन् । खानेपानीको चर्को समस्याका कारण तीब्र बसाइँसराइ रहेको छथर जोरपाटीको तेलिया, तांखुवा र परेवादिनका करिब पाँच हजार उपभोक्तालाई सुविधा पुग्ने गरी बृहत तमोर लिफ्टिङ खानेपानी आयोजना पनि निर्माणाधीन छ ।
हंसमोरङमा पानीको प्रशस्त स्रोत भए पनि व्यवस्थापन थिएन । स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य थिए । करिब १७ करोड रुपैयाँको लागतमा तमोर नदीको त्रिवेणी घाटबाट पाथीभरा, लामिछानेडाँडा हुँदै पिङडाँडामा लगेर पानी रिजर्व ट्याङ्कीमा जम्मा गर्ने योजना छ । आयोजनाको करिब ६५ प्रतिशत काम पूरा भएको कार्यालयले जनाएको छ ।
धनकुटामा कार्यान्वयनको चरणमा रहेका आयोजनाले समयमै पूर्णता पाए एक घर एक धाराको राष्ट्रिय अभियानमा टेवा पुग्ने अपेक्षा गरिएको इन्जिनियर श्रेष्ठ सुनाउँछन् ।
धनकुटाको कुल जनसंख्या मध्ये ८५ प्रतिशतमात्रै आधारभूत खानेपानीको पहुँचमा छन् । स्वच्छ र सुरक्षित खानेपानीको उपलब्धता भने २५ देखि ३० प्रतिशतको बीचमै सीमित छ । आधारभूत खानेपानीको पहुँच बढ्दै गए पनि गुणस्तर सुधारका आयोजना भने संचालन हुन सकेका छैनन् ।
