५० शय्याको अस्पताल अझै बनेन, टहरामा उपचार

दैनिक आउने डेढ-दुई सय बिरामीलाई टहराको साँघुरो कोठामा उपचार गर्नुपर्ने अवस्था छ ।

कार्तिक २५, २०८२

डम्बरसिं राई

50-bed hospital not yet built, treatment in tents

What you should know

खोटाङ — निर्माणाधीन जिल्ला अस्पताल भवन बेलामा नसक्दा टहरामा उपचार गर्नुपर्ने बाध्यता आइपरेको छ । २०८० मंसिरमा निर्माण सक्नुपर्ने ५० शय्याको भवन अहिलेसम्म नसकिँदा टहरामा उपचार गर्नुपर्ने बाध्यता आइपरेको हो ।

संघीय सरकारको २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँको लागतमा ३० महिनाभित्र सक्ने गरी श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले २०७८ असार २४ गते सघन सहरी भवन निर्माण आयोजना ओखलढुंगासँग सम्झौता गरेको थियो । तर पटक–पटक म्याद थप गर्दै काममा ढिलासुस्ती गरेकाले समस्या आइपरेको जिल्ला अस्पताल खोटाङका निमित्त प्रमुख डा. पुस्कल राईले बताए । भवन निर्माणस्थलमा आवश्यक कामदारसमेत नभएको उनको भनाइ छ । 

भवन नहुँदा टहराको साँघुरो कोठामा बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता छ । ‘दिनमा डेढ–दुई सय बिरामी आउनुहुन्छ, टहराको साँघुरो कोठामा उपचार गर्नु पर्ने अवस्था छ,’ राईले भने, ‘भवन नबनिन्जेलसम्म समस्या खेप्नुपर्ने भयो, निर्माणस्थलमा कामदार नै नभएकाले बेलामा भवन बन्ने छाँट छैन, त्यसो भएकाले अवस्था निराशाजनक छ ।’

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि महँगो पैसा तिरेर हेलिकोप्टर चार्टरसम्म गर्नुपर्ने बाध्यता छ । जिल्ला अस्पतालको रेकर्डअनुसार यो चार महिनाको अवधिमा ८९ जना बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको छ । ‘जटिल किसिमका बिरामीलाई सुविधा सम्पन्न ठाउामा पठाउनैपर्छ,’ राईले भने, ‘हाम्रो अस्पतालमा जनशक्ति भए पनि इक्युपमेन्ट लगायतका अन्य सुविधा अभावले गर्दा सुविधासम्पन्न ठाउँमा पठाउनुपर्ने बाध्यता छ ।’

भवन सम्पन्न गर्नका लागि सम्बन्धित निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दासमेत अटेर गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाका प्रमुख सनबहादुर राईले बताए । ‘सम्बन्धित निर्माण कम्पनीलाई भवन छिटो सकिदिनुपर्‍यो, ५० शय्याको अस्पतालमा अपग्रेड गर्न समस्या भयो भनेर पटकपटक लिखित मौखिक सम्झौता गरियो तर टेरेन,’ राईले भने, ‘यसबारेमा राज्यको चासो हुनुपर्‍यो, सम्बन्धित निर्माण कम्पनीलाई जिम्मेवार बनाउनुपर्‍यो ।’

50-bed hospital not yet built, treatment in tents

५० शय्याको अस्पताल स्तरोन्नतिका लागि सेवा विस्तार गर्न कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले चार करोड बजेट उपलब्ध गराएको कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बताए । अस्पताल स्तरोन्नतिका लागि इक्युप्मेन्ट, जनशक्ति, ब्लडबैंक, शब बाहान लगायतका लागि उक्त बजेट विनियोजन गरिएको राईले जनाए । ‘५० शय्याको अस्पताल अपग्रेडका लागि उपकरण, जनशक्ति, ब्लडबैंक, शव वाहन लगायतलाई चार करोड बजेट विनियोजन गरिएको छ,’ मन्त्री राईले भने, ‘तर बेलामा भवन नसकिँदा कार्यान्वयनमा समस्या आएको छ, यसका लागि सम्बन्धित निर्माण व्यवसायी, सघन सहरी भवन निर्माण आयोजना ओखलढुंगालाई समेत छिटो काम सक्नका लागि ताकेता गरिरहेको छु ।’ यसबाहेक जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा आयुर्वेद जडिबुटी संकलन तथा प्रशोधन केन्द्रका लागि चालु तथा पुँजीगत गरी १६ करोड बजेट विनियोजन गरेको मन्त्री राईले सुनाए । 

सम्बन्धित निर्माण कम्पनीलाई चाँडो काम सक्नका लागि पत्राचार गरिरहेको सघन सहरी भवन निर्माण आयोजना ओखलढुंगाका आयोजना प्रमुख सुरोज पौडेलले बताएका छन् । ‘हामीले सम्बन्धित निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम सक्नका लागि पत्राचार गरिरहेका छौं,’ पौडेलले भने, ‘निर्माण कम्पनी सम्बद्धले पनि छिट्टै काम सक्छौं भन्नुभएको छ ।’

निर्माणमा सहभागी कम्पनीमध्येका नेपाल फूलबारी सम्बद्ध राजेश केसीले भने अबको दुई–अढाई महिनाभित्र काम सक्ने बताएका छन् । अस्पतालका लागि लिफ्ट एलसीमार्फत भारतबाट ल्याउनुपरेकाले काममा ढिलो भएको केसीको भनाइ छ । ‘अब धेरै काम बाँकी छैन, फिल्ट जडान र कम्पाउन्डको काम बाँकी छ, त्यो पनि अबको दुई अढाई महिनाभित्र सकिन्छ,’ केसीले भने, ‘लिफ्ट एलसीमार्फत भारतबाट ल्याउनुपरेकाले ढिलाइ भएको हो, त्यो पनि आइसकेको छ ।’

कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री राईले गत असार २२ गते १५ बाट ५० शय्याको अस्पतालमा स्तरोन्नतिको उद्घाटन गरेका थिए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully