धनकुटामा जलवायु परिवर्तन र विपद् व्यवस्थापन पाठ्यक्रममा समेटिँदै

विद्यालय तहमै विद्यार्थीलाई जलवायु परिवर्तनले नित्याउन सक्ने सम्भावित जोखिम चिन्न, सजग र सुरक्षित रहन व्यवस्थापन सीप, क्षमता विकासका लागि पाठ्यक्रम तयार गर्न लागिएको हो।

कार्तिक २४, २०८२

विनोद घिमिरे

Climate change and disaster management being included in the curriculum in Dhankuta

धनकुटा — धनकुटा नगरपालिकाले जलवायु परिवर्तन र विपद् व्यवस्थापन विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने तयारी गरेको छ ।

विद्यालय तहमै विद्यार्थीलाई जलवायु परिवर्तनले नित्याउन सक्ने सम्भावित जोखिम चिन्न, सजग र सुरक्षित रहन व्यवस्थापन सीप, क्षमता विकासका लागि पाठ्यक्रम तयार गरी समावेश गर्न लागेको हो । पाठ्यक्रम नयाँ शैक्षिक सत्रबाट कक्षा ८ मा लागु हुनेछ । 

विद्यालयस्तरदेखि नै बालबालिकामा जलवायु परिवर्तनका असरसँग कसरी सामना र व्यवस्थापन गर्ने भन्ने सचेतना आवश्यक ठानिएको धनकुटा नगरपालिकाले जनाएको छ । स्थानीय आवश्यकता र भौगोलिक अवस्था मेल खाने गरी पाठ्यक्रम डिजाइन भइरहेको धनकुटा नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले बताए । 

सबैभन्दा पहिले प्रविधिमा आधारित पूर्वसूचना प्रणाली सम्बन्धी पाठ्यवस्तु राखेर अरु थप गर्दै जाने तयारी छ । धनकुटा नगरपालिकामा गठित स्थानीय पाठ्यक्रम निर्माण समितिले जलवायु परिवर्तन र विपद् व्यवस्थापन विषयको पाठ्यवस्तु के–के हुने र पाठ्यभार कति रहने भन्ने टुंगो लगाउने छ । 

धनकुटा नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक लक्ष्मीप्रसाद सापकोटाले जलवायू परिवर्तन र विपद् व्यवस्थापन विषय पाठ्यक्रममा समावेश गर्न सके मात्रै भविष्यका लागि आवश्यक जनशक्ति तयार हुने बताए ।

उनले विद्यालयमा जलवायु परिवर्तन र बिपद् व्यवस्थापन विषय लागु गर्ने कुरा सुन्दा सामान्य लागे पनि नगरी नहुने गम्भीर विषय भएको जनाए । धनकुटा नगरपालिका भूकम्प, आगलागी र बाढीपहिरोको जोखिम क्षेत्रमा पर्छ । 

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Link copied successfully