हुलाकी सडकमा ६ किलोमिटरको सकस

हुलाकी सडककाे यो ६ किलोमिटर सडक कालोपत्र र कनकाई नदीमा पुल बन्ने हाे भने विराटनगरदेखि झापासम्मको यात्रा छोटो हुनेछ ।

कार्तिक २४, २०८२

पर्वत पोर्तेल

6-kilometer stretch on Postal Road

What you should know

विराटनगर — मोरङको जहदा गाउँपालिकाको नयाँ बजारदेखि कटहरी गाउँपालिका हुँदै विराटनगर महानगरको सीमानासम्म करिब ६ किलोमिटर दूरी छ । हुलाकी राजमार्गको यो खण्ड सडक मार्गभन्दा पनि सास्ती मार्ग जस्तै लाग्छ ।

वर्षौंदेखि अलपत्र बनेको यो सडक पार गर्न सर्वसाधारणले दैनिक भोग्नुपरेको कष्ट भनी साध्य छैन । बर्खामा हिलो र हिउँदमा धुलोले यात्रा गर्न ज्यादै कठिन हुने गरेको स्थानीयको गुनासो छ । ‘पानी पर्दा हिलाम्य हुन्छ, घाम लाग्दा धुलोले मान्छे चिन्नै गाह्रो पर्छ,’ यो सडकबाट दैनिक यात्रा गर्ने रंगेलीका हरिशंकर मण्डलले दुखेसो पोखे, ‘वर्षौदेखि हामी यस्तै भोग्दै आएको छौं, कहिले बन्ने हो थाहा छैन ।’ 

यो सडकको निर्माण कार्य २०७६ सालमा सुरु भएको हो । तर, ६ वर्ष बितिसक्दा पनि कामको प्रगति ३० प्रतिशत माथि उक्लिन सकेको छैन । ‘हामीलाई त सरकारले सडकका नाममा सास्ती दिए जस्तो लागेको छ’, सडककै छेउमा पान पसल चलाइरहेका गणेश मण्डल भन्छन्, ‘यो सास्ती कहिलेसम्म ?’ 

उनका अनुसार बर्खाको समय यो बाटो हिडिसक्नु हुन्न । यहाँ यात्रा गर्ने धेरै मोटरसाइकल यात्रु हिलोमा चिप्लिएर घाइते भएका छन् । ‘गाडी त के, पैदल हिँड्न पनि समस्या हुन्छ’, मण्डल भन्छन् । किराना पसल गर्ने रामप्रित गनगाईका अनुसार हिलो र धुलोका कारण ग्राहकहरु किनमेलमा आउनै सक्दैनन् । ‘ग्राहक पर्खिएर दिन जान्छ’, उनी भन्छन्, ‘घर पुग्दा धुलोले चिन्नै नसक्ने अवस्था हुन्छ ।’ 

यो सडक खण्ड निर्माण गर्न हेटौंडाको श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले २०७६ कात्तिकमा ठेक्का लिएको थियो । तर, हालसम्म निर्माणको प्रगति अत्यन्तै निराशाजनक छ । दुईपटक म्याद थप गरिए पनि निर्माण अलपत्र अवस्थामा छ । पछिल्लो समय त निर्माण कम्पनी सम्पर्कविहीन छ ।  

6-kilometer stretch on Postal Road

हुलाकी सडक परियोजना इटहरीका इन्जिनियर उपेन्द्र दासका अनुसार ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा लामो समयदेखि यो सडक निर्माण अवरोध भएको हो । ‘पुरानो ठेकेदारसँगको प्रक्रिया तोडेर नयाँ ठेक्का अघि बढाउने काम सुरु भएको छ,’ इन्जिनियर दासले भने,‘कम्तीमा ३ महिनाभित्र नयाँ ठेक्का सम्झौतापछि काम सुरु हुने छ ।’ 

यो सडक तत्काल कालोपत्र नगरे आन्दोलन गर्ने स्थानीयले बारम्बार चेतावनी दिँदै आएका छन् । दसैंअघि पनि स्थानीयले धुलोले स्वास्थ्यमा असर गरेको भन्दै सडक अबरुद्ध पारेका थिए । कोशी प्रदेशका सांसदद्वय भीम पराजुली र शिला दिक्षितले समेत बाटो तीब्र गतिमा निर्माण गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

हुलाकी सडकमा यो ६ किलोमिटर सडक कालोपत्र र कनकाई नदीमा पुल बने विराटनगरदेखि झापासम्मको यात्रा छोटो हुनेछ । पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा धेरैले यो बाटो प्रयोग गर्न सक्ने थिए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully