सहिदभूमिमा खेतान फाउण्डेसनको पाँच अर्ब अनुदान प्रतिबद्धता

खेतान फाउण्डेसनले सहिदभूमि गाउँपालिकामा गरिबी निवारण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, घरेलु उद्यम प्रबर्द्धन तथा बजारीकरणमा सघाउने समझदारी पत्रमा हस्ताक्षर भएकाे हो ।

कार्तिक २३, २०८२

विनोद घिमिरे/धनकुटा

Khaitan Foundation pledges Rs 5 billion grant to martyrs' home

What you should know

धनकुटा — सहिदभूमि गाउँपालिकाको गरिबी निवारण र पूर्वाधार विकासमा सघाउन खेतान फाउण्डेसनले करिब पाँच अर्ब रुपैयाँ रकम अनुदान उपलब्ध गराउने भएको छ ।

फाउण्डेसनबाट प्राप्त हुने रकम सहिदभूमि गाउँपालिकाको गरिबी निवारण, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास तथा गुणस्तर सुधारमा केन्द्रीत हुने जनाइएको छ ।

फाउण्डेसनले सहिदभूमि गाउँपालिकामा गरिबी निवारण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, घरेलु उद्यम प्रबर्द्धन तथा बजारीकरणमा सघाउने समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

फाउण्डेसनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितीमा आगामी पाँच वर्षभित्र पाँच अर्ब रुपैयाँ लगानी गर्ने गरी समझदारी गरेको हो ।

समझदारी पत्रमा गत कात्तिक ९ मा सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई र खेतान फाउण्डेशनका अध्यक्ष निर्मल मदनमान सिंहले हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार यहाँको पूर्वाधार विकास, गरिबी निवारण, शिक्षा र स्वास्थ्यका नयाा पूर्वाधार निर्माण, विद्यालयमा सूचना प्रविधि प्रयोगशाला संचालन तथा स्वरोजगार तालिमका कार्यक्रम संचालन गर्नेछ ।

द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षरका लागि सहिदभूमि गाउँपालिकाको केन्द्र पिप्ले पुगेका मुख्यमन्त्री कार्कीले अनुदानको ठूलो हिस्सा खेतान फाउण्डेसनको भए पनि गाउँपालिका र कोशी प्रदेश सरकारसँगको साझेदारीमा परियोजना अघि बढ्ने बताए ।

फाउण्डेसनबाट प्राप्त हुने अनुदानको अधिकतम लगानी आधुनिक विद्यालय भवन, स्वच्छ खानेपानी, पुस्तकालय, शिक्षक–विद्यार्थीका लागि सूचना प्रविधि तालिम संचालन तथा छात्रवृतिमा केन्द्रित हुने मुख्यमन्त्री कार्कीले बताए । 

यस्तै स्वास्थ्य केन्द्रमा जनशत्ति, औषधि उपकरणको व्यवस्थापन, मातृशिशु स्वास्थ्य कार्यक्रम र आपतकालीन स्वास्थ्य सेवा सुदृढ बनाउने योजना रहेको कार्कीले बताए । फाउण्डेसनबाट प्राप्त सहयोगले यहाँका विद्यालय भवन र शैक्षिक गुणस्तर सुधारमा काम भइरहे पनि यो वर्षबाट काम र लगानीको परिधि बिस्तार गरिने अध्यक्ष सिंहले बताए । उनले सहिदभूमि गाउँपालिकालाई नमुना बनाउन आफूहरुको केन्द्रीत भएको सुनाए ।

जस अन्तर्गत आँखीसल्लाको  थलथलेबाट पिप्ले, छिन्ताङ, अखुवाटार सडकको करिब २० किलोमिटरमा यसै वर्षबाट कालोपत्र सुरु गरिने उनको प्रतिबद्धता छ । यसबाहेक थप कामका लागि परियोजना छनौट भइरहेको उनले बताए । 

याे समझदारीले यहाँको शिक्षा, स्वास्थ्य र गरिबी निवारण मात्र होइन, सडक यातायात, धार्मिक सांस्कृतिक र पर्यटनका क्षेत्रमा समेत नयाँ आयामको अपेक्षा गरिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई बताउँछन् । 'आधुनिक कृषि प्रविधि र बजार पहुँच नहुँदा किसानको आम्दानी सीमित छ । व्यवस्थित नभएकै कारण खनिएका सडकको साइनो स्थानीयको जीवन निर्वाहसँग जोडिन सकेको छैन्,' अध्यक्ष राईले भने, ‘गाउँपालिकाका अधिकांश बासिन्दा कृषि पेशामा निर्भर छन् । फाउण्डेसनसँग भएको समझदारी अनुसार काम अघि बढे गाउँपालिको समग्र विकासमा दीर्घकालीन टेवा पुग्ने छ,’

२०३६ सालको बहुचर्चित छिन्ताङ हत्याकाण्डको नामले चिनिएको सहिदभूमि त्रिवेणीमा रहेको खुवालुङ र छिन्ताङ भगवती मन्दिरका नामले पनि प्रसिद्ध छ । उक्त काण्डमा पञ्चायतबिरुद्ध आन्दोलित १६ जना स्थानीयको हत्या भएको थियो । धनकुटाको खाल्स क्षेत्रका तत्कालीन तीन वटा गाउँविकास समिति खोकु, छिन्ताङ्ग र आाखीसल्ला मिसाएर सहिदभूमि गाउँपालिका कायम गरिएको हो । 

विनोद घिमिरे/धनकुटा

Link copied successfully