इलामका पहिरो प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विस्थापित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न प्रति परिवार २५ हजारका दरले रकम निकासा गरेको हो।

कार्तिक २१, २०८२

लक्ष्मी गौतम

First installment of funds released for temporary housing for landslide victims in Ilam

पाँचथर — इलामका पहिरोपीडित २०९ घरपरिवारलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा भएको छ ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ती विस्थापित घरपरिवारका लागि अस्थायी आवास निर्माण गर्न प्रति परिवार २५ हजारका दरले रकम निकासा पठाएको हो ।

उक्त रकम जिल्ला प्रशासन कार्यालय इलाममार्फत भुक्तानी हुने गरी पठाइएको प्राधिकरणका लेखा अधिकृत तुलसीराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार विपद्‌–प्रभावित स्थानीय तहहरूको सिफारिस र जिल्ला विपद्‌ व्यवस्थापन समितिको निर्णयअनुसार पूर्णरूपमा घर क्षति भएर बस्नै नसक्ने अवस्थामा पुगेका नागरिकलाई अस्थायी आवास निर्माण गर्न उक्त रकम पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार अस्थायी आवासका लागि रकम प्राप्त गर्नेमा इलाम नगरपालिकाका १०८, सूर्यदय गाउँपालिकाका ४७, सन्दकपुर गाउँपालिकाका ४४ र माङसेबुङ गाउँपालिकाका १० घरपरिवारका लागि रकम निकासा भएको हो ।

उक्त रकम जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित पीडितका खातामा निकासा हुने बताइएको छ । आवास निर्माण सकिएपछि पुनः दोस्रो किस्ताको (२५ हजार) रकम पठाइने प्राधिकरणले जनाएको छ ।

बाढी र पहिरो–प्रभावित अन्य स्थानीय तहका पीडितका लागि रकम निकासा गर्ने प्रक्रिया सुरु भइसकेको बताइएको छ ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully