असोजको विपद्‍बाट इलाममा मात्रै झन्डै १२ अर्ब रुपैयाँबराबरको क्षति 

बाढीपहिरोका कारण ७३ वटा सडक,२५ वटा पुल र ६ वटा भवन भत्किए

कार्तिक २०, २०८२

लक्ष्मी गौतम

The Asoj disaster caused losses of approximately Rs 12 billion in Ilam alone.

What you should know

पाँचथर — असोज १७ र १८ गते भएको अविरल वर्षापछि गएको पहिरोका कारण इलाममा मात्रै ११ अर्ब ८१ करोड, ८९ लाख ८५ हजार ७ सय ३ रुपैयाँ क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले विषयगत कार्यालयमार्फत प्राप्त तथ्यांकलाई एकीकृत गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो ।

सबैभन्दा धेरै सडक,पुल र भवनमा क्षति पुगेको डिभिजन सडक कार्यालय इलामको तथ्यांकमा उल्लेख छ । बाढीपहिरोका कारण ७३ वटा सडक,२५ वटा पुल र ६ वटा भवन भत्किएका थिए । संघीय सरकारमातहतको डिभिजन सडक कार्यालयको क्षेत्रात्रिकारभित्र पर्ने ११ वटा सडकमा पहिरो जाँदा ६ अर्ब ९६ करोड ४५ लाख रुपैयाँबराबरको क्षति भएको छ । यसैगरी प्रदेश सरकारअन्तर्गतका अन्य ६२ वटा सडकमा क्षति हुँदा २ अर्ब ३४ करोड ६५ लाख रुपैयाँको क्षति थपिएको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पूर्वाधार विकास कार्यालयअन्तर्गतका २५ वटा पुल भत्किँदा ८५ करोड,६ वटा भवन भत्किँदा ४ करोड,विद्युत् प्राधिकरणका संरचनामा बाढीले क्षति पुर्‍याँउदा २ करोड ४५ लाख ३५ हजार रुपैयाँबराबरको क्षति भएको छ ।

सिँचाइमा ९५ करोड, खानेपानीमा २८ करोड ३०लाख र विद्युत्‌मा १ करोड ७६ लाख ,पशु चौपाया र गोठतर्फ ४ करोड ३३ लाख ३० हजार रुपैयाँको क्षति भएको छ । यस्तै कृषि,चिया,टेलिकमका संरचनामा समेत क्षति पुगेको भएको छ ।

विषयगत कार्यालय र स्थानीय तहबाट प्राप्त तथ्यांकलाई एकिकृत गर्दा यत्तिको क्षति आकलन गरिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन । उनका अनुसार विपद्‌बाट क्षतिग्रस्त संरचनाहरुको पुनः निर्माण र मर्मतका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी संघीय र प्रदेश सरकारसमक्ष बजेट माग गरिएको छ ।

असोज १७ र १८ को विपद्पछि संघीय सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully