प्रदेश सरकारले केही दिनभित्रै कटहरीको तरकारी बजार भवनबाट प्रदेशसभाका सम्पूर्ण गतिविधि सुरु गरिने जनाएको छ।
विराटनगर — कोशी प्रदेशसभाको प्रशासनिक र संसदीय गतिविधि अब मोरङको कटहरीस्थित फलफूल तथा तरकारी थोक बजारको भवनबाट सञ्चालन हुने भएको छ ।कटहरी गाउँपालिकाले सोमबार औपचारिक रूपमा कोशी प्रदेश सरकारलाई पत्राचार गर्दै उक्त भवन प्रदेशसभाका गतिविधिका लागि प्रयोग गर्न सहमति जनाएको हो।
गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा प्रदेशसभाका दुईवटै भवनमा तोडफोड, लुटपाट र आगजनी भएपछि संसदीय गतिविधि पूर्ण रूपमा ठप्प भएका थिए। त्यसयता स्थान अभावका कारण प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन भने प्रशासनिक कामकाज विराटनगरस्थित मिडिया सेन्टरको साँघुरो कोठाबाट हुँदै आएको छ।
प्रदेश सरकारले केही दिनभित्रै कटहरीको तरकारी बजार भवनबाट प्रदेशसभाका सम्पूर्ण गतिविधि सुरु गरिने जनाएको छ।यसअघि विराटनगरको वीरेन्द्र सभागृहमा प्रदेशसभा सञ्चालन गर्ने तयारी भए पनि महानगरको स्वामित्वमा रहेको सभागृहको भाडा महँगो भएपछि प्रदेशसभा र प्रदेश सरकारले वैकल्पिक रूपमा कटहरीको तरकारी बजार भवन रोजेका थिए।
‘कटहरी गाउँपालिकाले प्रदेशसभालाई निःशुल्क रूपमा उक्त भवन उपलब्ध गराउने भएको छ,’ कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए। ‘गाउँपालिकाले सहमतिको पत्र पठाइसकेको छ। अब आगामी मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गर्नेछ, त्यसपछि प्रदेशसभा कटहरीबाट सञ्चालन हुनेछ,’ उनले थपे।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरज ढकालका अनुसार बुधबारदेखि नै सचिवालयको काम कटहरीबाट सुरु हुने सम्भावना छ। ‘मन्त्रिपरिषद्ले बुधबार निर्णय गर्ने जानकारी पाएका छौं,’ उनले भने, ‘निर्णय भएलगत्तै सचिवालय त्यहीँ सारिनेछ।’
जेन-जी आन्दोलनअघि प्रदेशसभाको बर्खे अधिवेशन जारी थियो। तर, आन्दोलनका क्रममा भएको आगजनीले सचिवालय र बैठक हल ध्वस्त भएपछि अधिवेशन अन्त्य गरिएको थियो।
विराटनगरसँग साँध जोडिएको कटहरी गाउँपालिकामा रहेको तरकारी बजारको संरचना संघीय सरकारको कृषि मन्त्रालयमार्फत करिब १५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो। स्थानीय फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्न निर्माण गरिएको यो भवन उपयोगमा भने आएको थिएन, यद्यपि साप्ताहिक हाटबजार भने सञ्चालन हुँदै आएको छ। उक्त संरचनाको उद्घाटन २०७५ साल चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।
करिब पाँच बिघा दुई धुर क्षेत्रफलमा फैलिएको बजार क्षेत्रभित्र प्रशासनिक भवन, ३२ वटा थोक तथा ३२ वटा खुद्रा पसलका स्टल, गोदाम, बैंक घर र सुरक्षाकर्मीका लागि आवश्यक संरचना निर्माण गरिएको छ। अब त्यही संरचनाभित्र प्रदेशसभाको बैठक हल निर्माणको तयारी भइरहेको मन्त्री भण्डारीले जानकारी दिए। ‘अन्य संरचनाहरू लगभग तयार छन्,’ उनले भने, ‘अब बैठक हल बनाउन बाँकी छ। मन्त्रिपरिषद्को निर्णयपछि तत्काल निर्माण सुरु हुनेछ।'
करिब १५–२० दिनभित्र हल तयार पार्ने योजना छ, त्यसपछि मंसिरको पहिलो साताबाट प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गर्ने तयारी भइरहेको छ।
