कोशी सरकारको खर्च ८ प्रतिशत मात्र

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

कार्तिक १८, २०८२

पर्वत पोर्तेल

Koshi government's expenditure is only 8 percent

विराटनगर — चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कोशी प्रदेश सरकारले ८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार चालु र पूँजीगत गरी जम्मा २ अर्ब ८२ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको छ । ‘यो करिब ८ प्रतिशत जति हुन आउँछ,’ प्रदेश कोष नियन्त्रक दामोदर खत्रीले भने, ‘सामान्यतया सुरुको त्रैमासिकमा खर्च कम हुने हो, तर जेनजी आन्दोलनका कारण यसपटक झन् ढिलो भयो ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । यसमध्ये चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख २० हजार, पूँजीगत खर्चका लागि १७ अर्ब १० करोड ३५ लाख ८० हजार र वित्तीय व्यवस्थापनका लागि १० करोड रुपैयाँ छुट्याइएको छ।

कार्यालयका विवरणअनुसार साउन महिनामा चालु तर्फ ८१ करोड १२ लाख ३६ हजार र पूँजीगत तर्फ १६ लाख ४४ हजार ९१४ सहित जम्मा ८ करोड २६ लाख ८० हजार ९७५ रुपैयाँ खर्च भएको थियो ।

भदौमा चालु तर्फ ७४ करोड ६१ लाख ५१ हजार २३५ र पूँजीगत तर्फ १३ करोड ५७ लाख ४८ हजार ५३१ सहित जम्मा ८८ करोड १८ लाख ९९ हजार ७६६ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।

असोजमा भने खर्च उल्लेख्य रूपमा बढेको छ । चालु तर्फ २ अर्ब १३ करोड ८० लाख ३४ हजार ६६७ र पूँजीगत तर्फ ६८ करोड ७५ लाख ३९ हजार ४७७ सहित जम्मा २ अर्ब ८२ करोड ५५ लाख ७४ हजार १४४ रुपैयाँ खर्च भएको छ । असाेजमा बाढीपहिरो पीडितका लागि सरकारले बिभिन्न राहत प्याकेज ल्याएका कारण खर्च बढेको हो । 

कोष नियन्त्रक खत्रीका अनुसार चालु खर्च बढी देखिए पनि पूँजीगत खर्चको गति अझै सुस्त छ। उनले भने, ‘योजनाको टेन्डर प्रक्रिया सुरु भइसकेकाले दोस्रो त्रैमासिकदेखि पूँजीगत खर्चमा तीव्रता आउने अपेक्षा गरिएको छ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully