कर्मचारी हटाउने निर्णयबाट पछि हट्यो मेचीनगर

सोमबारको कार्यपालिका बैठकले यसअघि कटौती गरिएका कर्मचारीलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।

कार्तिक १७, २०८२

नवराज सुवेदी

झापा — संघीय सरकारको निर्णय कार्यान्वयन गर्ने भन्दै ठूलो संख्यामा कर्मचारी कटौती गरेको मेचीनगर नगरपालिका आफ्नै निर्णयबाट पछि हटेको छ ।

सोमबारको कार्यपालिका बैठकले यसअघि कटौती गरिएका कर्मचारीलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । यसअघि संघको निर्णय कार्यान्वयन गर्ने भन्दै गत २९ असोजमा बसेको कार्यपालिका बैठकले १ कात्तिकदेखि एक सय ३८ कर्मचारीलाई हाजिरी नगराउने निर्णय गरेको थियो । जुन निर्णयको चौतर्फी विरोध भएको थियो भने निस्कासनमा परेका कर्मचारीले नगरको मूल गेटमा धर्ना दिँदै आएका थिए ।

नगरले त्यसबेला नेपाल सरकार प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी तथा कर्मचारी राख्न नपाउने भनी भएको निर्णय, मन्त्रालयको परिपत्रका साथै नगर कार्यपालिकाको गत २९ असोजको निर्णय बमोजिम अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीको म्याद थप तथा करार सम्झौता रद्द गरिएको बताएको थियो ।  

अहिले भने ती सबै कर्मचारीलाई काममा फर्काइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी मुख्यमन्त्री कार्यालय तथा लोक सेवा आयोगसाग स्थायी दरबन्दी माग गर्ने र स्थायी दरबन्दी आएपछि क्रमशः अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत कर्मचारीलाई हटाउँदै जाने सर्तमा पुनर्बहाली गरिएको बताए ।

‘एकैचोटि ठूलो संख्यामा कर्मचारी कटौती गर्दा वडा कार्यालय सञ्चालन, नगरको सेवा प्रवाह लगायतमा असर पर्ने देखियो । त्यसैले स्थायी दरबन्दी आएपछि क्रमशः कर्मचारी हटाउँदै जाने सर्तमा कर्मचारीलाई काममा फर्काएका हाैं,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘यो सरकारबाट आएको परिपत्र कार्यान्वयन नगरेको भन्ने होइन । क्रमशः कार्यान्वयन गर्दै जाने भन्ने हो ।’

उनका अनुसार संघीय सरकारको निर्णय एकैचोटि कार्यान्वयन गर्न खोज्दा नगरको सम्पूर्ण कार्य नै अस्तव्यस्त बनेको थियो । जसका कारण सम्मानजनक निकास खोजिएको उनको दाबी छ । त्यसो भए सरकारबाट भएको निर्देशनात्मक परिपत्र कार्यान्वयन हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा उनले भने, ‘सरकारले कात्तिक १ देखि नै कर्मचारी हटाउने निर्णय कार्यान्वयन गर भनेर परिपत्र गरेको होइन । उक्त परिपत्र कार्यान्वयन हुन्छ । हामी क्रमशः कार्यान्वयन गर्छाैं ।’

२९ असोजको कार्यपालिका बैठकमा उपस्थितिका लागि आफूहरुले गरेको हस्ताक्षर दुरुपयोग गरेर कर्मचारी निष्काशन गर्न प्रयोग गरिएको बताउँदै उक्त निर्णयको तीव्र विरोध गरेका मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल श्रेष्ठले पनि उचित सर्तमा कर्मचारीलाई काममा फर्काइएको बताए । ‘लोकसेवा आयोगसँग स्थायी दरबन्दी माग गर्ने त्यसबेला अहिले निष्कासनमा परेका कर्मचारी पनि भिड्न पाउने र नाम निकाल्ने कर्मचारी रहने र नाम ननिकाल्ने कर्मचारी बाहिरिने सर्तमा पुनर्बहाली गरिएको हो,’ उनले भने ।

नवराज

Link copied successfully