राजदुवालीको विकल्पका रुपमा रहेको तिल्केनी सिमलगोलाई खण्ड पनि क्षतिग्रस्त रहेको इलाम प्रशासनले जनाएको छ ।
पाँचथर — मेची राजमार्गको इलाम खण्डमा शनिबार साँझ ७ देखि आइतबार बिहान ६ बजेसम्म सबै खालका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले सार्वजनिक सूचना जारी गर्दै यो राजमार्गको माइखोला राजदुवाली खण्डमा सडक भासिनका साथै पहिरोले क्षति पुर्याएको सिमलगोलाई तिल्केनी वैकल्पिक मार्गको मर्मत कार्य जारी रहेकाले सवारी सञ्चालनमा रोक लगाएको हो । कात्तिक १३ गतेदेखि भइरहेको वर्षाका कारण राजदुवाली खण्डको सडक भासिएको छ ।
राजदुवालीको विकल्पका रुपमा रहेको तिल्केनी सिमलगोलाई खण्ड पनि क्षतिग्रस्त रहेको इलाम प्रशासनले जनाएको छ । असोज १८ र १९ गतेको भारी वर्षापछि गएको पहिरोका कारण मेची राजमार्गको इलाम खण्ड न्तर्गत राजदुवाली खण्ड १४ दिनसम्म अवरुद्ध भएको थियो । त्यसपछि कात्तिक १ देखि मर्मत गरेर सञ्चालनमा ल्याइएको यो सडक कात्तिक १३ देखि जारी वर्षाका कारण बिहीबार बिहानैदेखि अवरुद्ध छ ।
बाढी र पहिरोले तमोर करिडोर र फिदिम फालौट सडक खण्डसमेत अवरुद्ध छ । पानी परिहेकाले यी सडक खुलाउन समस्या भइरहेको बताइएको छ ।
