हत्या आरोपीको बयानका आधारमा प्रहरीले शनिबार बिहान बिरिङ पुलमुनिबाट शर्माको शव फेला पारेको थियो ।
काठमाडौँ — शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको शव बिरिङ पुलमुनि भेटिएपछि शनिबार झापाको माईधार क्षेत्र तनावग्रस्त बनेको छ । आफन्त र स्थानीय भेला भई हत्या आरोपीको घर तोडफोड गरेका छन् । माईधार चोकमा एउटा टेम्पोसमेत जलाइएको छ ।
हत्या आरोपमा पक्राउ परेका दुई जनाले चार–पाँच जनाको समूहले सरोजको हत्या गरी हुलाकी सडकअन्तर्गत बिरिङ खोलाको पुलमुनि शव गाडेको बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार हत्या आरोपमा पक्राउ परेका शिवसताक्षी–१० कै सुनिल साह र सोही स्थानका राहुल साहले उक्त बयान दिएका हुन् ।
सोही बयानका आधारमा प्रहरीले शनिबार बिहान बिरिङ पुलमुनिबाट शर्माको शव फेला पारेको थियो । झापा गाउँपालिका र बाह्रदशी गाउँपालिका भएर बग्ने बिरिङ खोलाको पुलमुनि प्लास्टिकमा बेरेर गाडेको अवस्थामा शर्माको शव फेला परेको थियो । ३३ वर्षीय शर्मा गत कार्तिक ९ गतेदेखि बेपत्ता थिए ।
उनी बागमती प्र.०१–०३० च. ७१०४ नम्बरको कार लिएर घरबाट निस्किएका थिए । तीन दिनपछि उक्त कार मेचीनगर नगरपालिका–१३ हातेमालो सामुदायिक वनभित्र जलिरहेको अवस्थामा फेला परेको थियो । जंगलभित्र कार जलिरहेको फेला परेपछि प्रहरी अनुसन्धान हत्या आरोपीतर्फ सोझिएको थियो ।
जसक्रममा प्रहरीले शुक्रबार हत्या आरोपीका रूपमा सुनिल र राहुललाई पक्राउ गरेको हो । शर्माको हत्यामा संलग्न आरोपी लागूऔषध कारोबारमा पनि संलग्न रहेको प्रहरी आशंका छ ।
