पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार पूर्वसांसद हुन्, महादेव खिम्तीका सिंह नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष । यसअघि पनि यी कम्पनीहरूले देशभरका ठेक्का अलपत्र पारेका थिए ।
गौरीगन्ज (झापा) — झापाको गौरीगन्ज गाउँपालिकातिरवाट पूर्व फर्किएर झापा गाउँपालिकातर्फ हेर्दा कनकाई नदी पार गर्ने एउटा अधुरो संरचना देखिन्छ । स्थानीयको त्यो सपना १४ वर्षदेखि अधुरो छ ।
७ सय २५ मिटर लामो कंक्रिटको पुल २०६८ सालदेखि अलपत्र बनेको हो । हुलाकी राजमार्गअन्तर्गतको पुल खासमा पुल चार वर्षमा बन्नुपर्ने थियो । तर निर्माण कम्पनीको चरम लापर्बाही र सरकारको बेवास्ताका कारण १४ वर्ष बित्दा पनि अधुरै छ ।
यो पुल कनकाई नदीको दुई किनारा जोड्ने संरचना मात्रै होइन, हुलाकी राजमार्गको निर्णायक कडी पनि हो । तर, अझैसम्म पुल नबन्दा स्थानीयवासी बर्खायाममा जोखिम मोलेर स:शुल्क डुंगा चढ्छन् । हिउँदमा पैसा तिरेरै बाँसको फड्के तर्नुपर्ने बाध्यता छ । ‘पुल नबनेपछि हाम्रो के लाग्छ,’ गौरीगन्जबाट झापा गाउँपालिकातिर जाँदै गरेका रोहित राजवंशीले सुनाए,‘वर्षौंदेखि हामी यस्तै पीडा सहन बाध्य छौं । हाम्रो समस्या कसैले सुनेनन् ।’
२०६८ जेठ १४ मा रवि सिंहको महादेव खिम्ती कन्स्ट्रक्सन र हरिनारायणप्रसाद साह रौनियारको पप्पु कन्स्ट्रक्सनले संयुक्त रूपमा करिब ३३ करोड रुपैयाँमा कनकाई पुल निर्माणको ठेक्का पाए । चार वर्षभित्र काम सम्पन्न गर्ने सहमति थियो । तर, २०७२ सम्म पुल बन्नु त परको कुरा, पाँच पटकसम्म म्यादचाहिँ थपियो ।
अहिलेसम्म पुलको दुई किनार जोडिएको छैन । आधा पुल बनेकातिर खोला छैन । पुल नभएकातिर बर्खामा खोला कुद्छ । अहिलेसम्म १९ मध्ये १० वटा स्पान मात्रै बनेका छन् । पप्पु कन्स्ट्रक्सनले २०७५ मा साझेदारी छाडेपछि महादेव खिम्ती एक्लैले काम गर्न थालेको हो ।
सडक विभागका अनुसार पुलको करिब ६५ प्रतिशत मात्र काम भएको छ । पछिल्लो म्याद २०८० असारमा सकिए पनि त्यसयता कुनै प्रगति छैन । अहिले कम्पनीले पुनः २०८४ सम्म समय थप्न माग गरेको छ ।
राजनीति र ठेक्काको गठजोड
कनकाई पुल निर्माणमा भएको ढिलाइ प्राविधिक नभई राजनीतिक समस्या भएको बताउँछन्, स्थानीय रघुनाथ प्रसाद साह । ‘राजनीतिक समस्याकै कारण हामीले अहिलेसम्म दुःख पाएका हौं,’ उनले भने ।
पप्पु कन्स्ट्रक्सनका मालिक रौनियार पूर्वसांसद हुन् । महादेव खिम्तीका सिंह नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष ।
यसअघि पनि यी कम्पनीहरूले देशभरका ठेक्का अलपत्र पारेका थिए । सरकारले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखे पनि राजनीतिक पहुँचका कारण उनीहरूले ठेक्का सम्झौता कायम राख्न सके ।
यो पुल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालको गृहजिल्लामा पर्छ । ओलीले चुनावी भाषणमा ‘कनकाई पुल चाँडै बन्ने’ भनेर धेरैपटक वाचा गरेका थिए । तर, झापा र गौरीगन्जका स्थानीय अहिले पनि अधुरो पुल कहिले बन्ला भन्ने प्रतीक्षामा छन् ।
गत असोज २६ असोजमा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले अधुरो कनकाई पुलको स्थलगत अवलोकन गरेका थिए । त्यही बेला उनले ‘अब ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति समाप्त हुन्छ’ भन्दै कनकाईजस्ता रुग्ण ठेक्का तोड्ने जनाएका थिए ।
लगत्तै सडक विभागले कनकाईसहित १७ वटा ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । निर्माण कम्पनीहरूलाई १५ दिनभित्र ‘भरपर्दो योजना र विश्वसनीय प्रतिबद्धता’ पेस गर्न भनिएको छ ।
९ सय ७५ किलोमिटर लामो हुलाकी राजमार्गले तराईका २० जिल्लालाई जोड्ने लक्ष्य राखेको छ । भारतको सहयोगमा बनेको यो सडक तराई–मधेसको जनजीवनमा यातायात र आर्थिक गतिशीलता ल्याउने अपेक्षा थियो ।
