जलेकै भवन रंग्याएर उच्च अदालतको सेवा

उच्च अदालत विराटनगरकाे भवनमा आगजनीसँगै धेरै कम्प्युटर चोरी भएकाले कार्य सम्पादनमा कठिनाइ भएको छ ।

कार्तिक १५, २०८२

पर्वत पोर्तेल

High Court service by painting the burnt building

विराटनगर — भदौ २४ मा प्रदर्शनकारीकाे आगजनीबाट विराटनगरस्थित उच्च अदालतका भवन, मुख्य न्यायाधीशको क्वार्टर, अतिथि गृह र इजलास अधिकृतको कार्यकक्षमा रहेका न्यायिक इतिहासका अमूल्य अभिलेख जलेर खरानी बनेका छन् । अहिले जलेको भवन रंग्याएर उच्च अदालतको सेवा दिन सुरु गरेको छ ।

अदालतका सूचना अधिकारी सन्तोष पोखरेलका अनुसार आगजनीबाट २०१० सालदेखि संरक्षणमा राखिएका सबै अभिलेख पूर्ण रूपमा नष्ट भएका छन् । उनले भने, ‘पुराना मुद्दाका इतिहास, नागरिकका जग्गाधनी कागज, नजिर र फैसलासमेत खरानी बने ।’ अभिलेख शाखामा मात्रै ३ हजार २ सय ३४ मिसिल पूर्ण रूपमा नष्ट भएका छन् भने १ हजार ४ सय मिसिल मात्र जोगिएका छन् ।

उच्च अदालतले सबै सेवा संचालनमा ल्याइसके पनि पूर्वाधार र उपकरण पर्याप्त नहुँदा असहज भइरहेकाे छ ।पोखरेलका अनुसार आगलागीले अदालतका पाँचवटा कार, एक जिप र मोटरसाइकल पनि जलेर नष्ट भए । अदालतका धेरै कम्प्युटर चोरी भएकाले कार्य सम्पादन गर्न कठिनाइ भएको छ । अदालतले हालसम्म गरेको मूल्यांकनअनुसार ३ करोड ६५ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

High Court service by painting the burnt building

२०७१ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले उद्घाटन गरेको यो अदालत भवन अहिले जलेर क्षति भएको हो । सामान्य मर्मत र रंगरोगनपछि अहिले पनि त्यही जलेको भवनबाट काम सुरु गरिएको छ । तर, सूचना अधिकारी पोखरेल भन्छन्, ‘यो काम सहज छैन । अभिलेख नहुँदा पुराना मुद्दा पुनः सुरु गर्न मुस्किल छ ।’

नेपाल बार एसोसिएसन उच्च अदालत शाखाका सचिव विनोद तिम्सिनाका अनुसार अदालतमा भएको आगजनीले न्यायिक प्रक्रियालाई दशकौं पछि धकेलेको छ । 

विराटनगर उच्च अदालतमा २०१० सालदेखि सुरक्षित राखिएका कानुनी कागजात, पुराना फैसला र मुद्दाका फाइल प्रशासनिक सामग्री मात्र थिएनन्, देशको न्यायिक इतिहासका ती साक्षी पनि थिए । ती सबै खरानी बनेसँगै नागरिकका कानुनी अधिकारसँग सम्बन्धित प्रमाण र नजिर पनि हराएका छन् ।  

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully