विद्युत् आपूर्ति अवरोधले कोशीका उद्योग प्रभावित, मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण

'केही उद्योगहरूमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन मात्र नभई स्थानीय रोजगारमा समेत असर परेको छ, जसले प्रदेशको समग्र आर्थिक विकासमा चुनौती सिर्जना गरेको छ।'-मुख्यमन्त्री कार्की

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Industries in Koshi affected by power supply disruption, Chief Minister Karki's attention drawn

What you should know

विराटनगर — नेपाल विद्युत् प्राधिकरणले  कोशी प्रदेशका विभिन्न उद्योगहरूको लाइन काटेका कारण  उत्पादन ठप्प भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

मुख्यमन्त्री कार्कीद्वारा जारी प्रेस नोटमा नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विवादका कारण विद्युत् आपूर्तिमा आएको अवरोधले प्रदेशको उद्योग, व्यापार, रोजगारी र आर्थिक गतिविधिमा नकारात्मक असर पारेको उल्लेख छ । मुख्यमन्त्री कार्कीले तत्काल समस्या समाधान प्रेस नोटमा  भनिएको छ, 'केही उद्योगहरूमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन मात्र नभई स्थानीय रोजगारमा समेत असर परेको छ, जसले प्रदेशको समग्र आर्थिक विकासमा चुनौती सिर्जना गरेको छ।'

हाल नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच डेडिकेटेड फिडर तथा ट्रान्सफर लाइनको समन्वयमा समस्या देखिएको छ। सोही कारणले उत्पन्न विवादका कारण कतिपय उद्योगहरूमा नियमित रूपमा विद्युत् आपूर्ति हुन सकेको छैन। यस अवस्थाले प्रदेशको औद्योगिक उत्पादन प्रभावित हुँदै गएको र आर्थिक प्रवाहमा समेत नकारात्मक प्रभाव पर्न थालेको उल्लेख गरिएको छ।

मुख्यमन्त्री कार्कीले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीच तत्काल संवाद र सहकार्यमार्फत विवाद समाधान गर्न आग्रह गरेका छन्। 'संवाद र सहकार्यकै माध्यमबाट समस्या समाधान गर्न सकिन्छ,' प्रेस नोटमा भनिएको छ, 'विद्युत् आपूर्तिमा निरन्तरता र विश्वसनीयता रहनु प्रदेशको आर्थिक स्थायित्वका लागि जरुरी छ।'

मुख्यमन्त्रीले प्रदेश र निजी क्षेत्रबीचको विश्वास र साझेदारीलाई अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको जनाएका छन्। उनले भनेका छन्, 'प्रदेश सरकारले निजी क्षेत्रसँग समन्वयात्मक वातावरण निर्माण गरी लगानीमैत्री माहोल बनाउन चाहन्छ।'

कोशी प्रदेश सरकारले उद्योगीहरूलाई सहज र स्थिर विद्युत् आपूर्ति सुनिश्चित गर्न केन्द्र सरकार र नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक पहल गर्ने मुख्यमन्त्री कार्कीले जनाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully