सुनसरीका ३३ सरकारी कार्यालयमा १ अर्ब १७ करोड ३ लाखको क्षति

क्षतिको विस्तृत विवरण संकलन गरी प्रदेश तथा संघीय सरकारलाई पठाइसकेको र प्रभावित कार्यालय अस्थायी रूपमा सञ्चालनमा ल्याउने तथा केही कार्यालय वैकल्पिक भवनमा सार्ने काम भइरहेकाे छ ।

कार्तिक १४, २०८२

एलिना राई

33 government offices in Sunsari suffer losses of Rs. 1.173 billion

What you should know

धरान — गत भदाै २३ काे जेन–जी आन्दोलन र २४ गतेकाे प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट सुनसरीका विभिन्न ३३ वटा सरकारी कार्यालयमा करिब १ अर्ब १७ करोड ३ लाख ३८ हजार ८३५ रुपैयाँ ३६ पैसा बराबरको क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले उक्त क्षतिको सूचना सार्वजनिक गर्दै आगजनी र तोडफोडबाट सबैभन्दा बढी क्षति इटहरी उपमहानगरपालिका कार्यालयमा भएको बताए । आगलागीका कारण उपमहानगरका महत्वपूर्ण फाइल, कम्प्युटर, फर्निचर, सवारीसाधन र भवनमा सबैभन्दा ठूलो क्षति पुगेकाे उनले जानकारी दिए ।

जिल्ला प्रशासनले क्षतिको मूल्यांकनका लागि सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी प्राविधिक अध्ययनपश्चात बनाएकाे प्रतिवेदनअनुसार इटहरीस्थित कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा करिब १० करोड १६ लाख ४७ हजार ४७५ रुपैयाँ, आन्तरिक राजस्व कार्यालयमा ११ करोड, राजस्व अनुसन्धान कार्यालयमा ११ करोड ७२ लाख ४२ हजार ५०९, यातायात व्यवस्था कार्यालयमा १० करोड, सवारी चालक अनुमति पत्र शाखामा २ करोड ५० लाख ४३ हजार, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयमा ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय इटहरीमा ७ करोड, इलाका प्रहरी कार्यालय पकलीमा २ करोड, प्रहरी चौकी खनारमा १२ लाख, प्रहरी बिट झुम्का १ लाख, प्रहरी चौकी हलगडामा ३ लाख, प्रहरी चौकी भरौलमा ५ लाख, अस्थायी प्रहरी चौकी पञ्चायन ५ लाख, अस्थायी प्रहरी चौकी रेल्वे धरान ३० हजार, अस्थायी प्रहरी पोस्ट एकम्बा १० लाख, अस्थायी प्रहरी चौकी नयाँ बसपार्क धरान २ हजार ५ सय, अस्थायी ट्राफिक पोस्ट खनार १ लाख ५० हजार, र अस्थायी प्रहरी चौकी पुष्पलालचोक २ लाख १० हजार बराबरको नोक्सानी भएको प्रजिअ मिश्रले जानकारी दिए । ईटहरी उपमहानगरपालिकामा २५ करोड १० लाख ४५ हजार ४०३ रुपैयाँको क्षति भएको छ भने अन्य स्थानीय तहहरूमा पनि ठूला क्षति भएको प्रशासनिक विवरणमा उल्लेख छ ।

भोक्राहा नरसिंह गाँउपालिकामा ८ करोड ९२ लाख १९ हजार ९०४ रुपैयाँ, कोशी गाउँपालिकामा १ करोड ७३ लाख ८९ हजार ९१३.९४, बराहक्षेत्र नगरपालिकामा २० लाख, धरान उपमहानगरपालिकामा १ लाख १० हजार, दुहबी नगरपालिकामा ४ करोड ६७ लाख ७७ हजार, रामधुनी नगरपालिकामा १ करोड २३ लाख ९१ हजार, गढी गाँउपालिकामा ५ करोड र इनरुवा नगरपालिकामा ९ करोड १० लाख ६६ हजार बराबरको क्षति भएको छ ।

प्रदर्शनका क्रममा इलाका प्रहरी कार्यालय इटहरीको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । अहिले प्रहरी चौकी तरहरामा अस्थायी रूपमा कार्यरत छ । आगलागीपछि पूर्णरूपमा बस्न अयोग्य बनेको कार्यालयलाई अहिले इटहरी–९ स्थित रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई अस्थायी रुपमा इलाका प्रहरी कार्यालयको भवन संचालनमा ल्याउने कार्य धमाधम भइरहेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालका अनुसार इटहरी उपमहानगरपालिकाको  कार्यपालिका बैठकले रगंशालामा अस्थायी रूपमा ठाँउ उपलब्ध गराएपछि प्रहरी कार्यालय बनाउने काम तीव्र गतिमा भइरहेको छ । डीएसपी हमालले भने, ‘केही समय लाग्ने भएकोले अहिले तरहराबाटै अफिसियल कामहरु गरिरहेका छौ‌ं ।’

त्यस्तै इटहरीस्थित कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय आन्दोलनका क्रममा भएको आगजनीले उक्त कार्यालय पूर्ण रूपमा जलेर नष्ट भएको थियो । कार्यालय नहुँदा ट्राफिक प्रहरीले अस्थायी रूपमा जलेको कार्यालयको ग्यारेज र निजी घरका कोठामा बसेर कार्य सञ्चालन गरिरहेको छ । कार्यालय नहुँदा आवश्यक फाइल, कागजात र उपकरण व्यवस्थापनमा समस्या देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार क्षतिको विस्तृत विवरण संकलन गरी प्रदेश तथा संघीय सरकारलाई पठाइसकेको र प्रभावित कार्यालयहरूको अस्थायी रूपमा सञ्चालनमा ल्याउने तथा केही कार्यालय वैकल्पिक भवनमा सार्ने प्रक्रिया अघि बढाइरहेको जानकारी दिए ।

आन्दोलनको क्रममा आगजनीबाट ईटहरी उपमहानगरपालिकाको कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय प्रशासन अधिकृत मीनबहादुर भट्टराईले अहिले नगरपालिकाको भवनबाट नै सेवा सुरु गरिएको जानकारी दिए । अधिकृत भट्टराई भन्छन्, ‘आगजनीमा भवनहरु जलेको कारण सुरुमा बाहिरबाटै सेवा दिएका थियौं,’ उनले भने, ‘एक महिना पछि बचेकाे भवनलाई व्यवस्थापन गरेर सेवा सुचारु गरेका छौ‌‌‌‌ै ।’

सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले अराजक समूहको गतिविधिले कानुनी शासनमाथि गम्भीर आघात पुगेको उल्लेख गर्दै सरकारी सम्पत्ति तोडफोड गर्नेहरूको पहिचान भइसकेको बताए । उनले स‌ंलग्नहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइने बताए ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully