हिमपातले तिब्बत माइती हिँडेका चेली बाटोमै रोकिए, कञ्चनजंघा उक्लिएका पर्यटक बस्ती फर्किए

मौषमविद्ले मौषम अझै बिग्रने सन्देश दिएकाले चिनियाँ अधिकारीले पनि नेपालीहरुलाई तत्काल तिब्बत नपठाउन मंगलबार विच्याट मार्फत सन्देश पठाएकाे छ ।

कार्तिक १३, २०८२

आनन्द गौतम

Snowfall stops girls walking to Tibet, tourists who climbed Kanchenjunga return to settlement

What you should know

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–७ याडमाकी फुटिक शेर्पा डेढ वर्षपछि माइती भेट्न मंगलबार घरबाट चीनको तिब्बत हिँडिन् । याङ्माबाट ओलाङ्चुङगोला, गोलाबाट मौवाटार र मौवाटारबाट टिपताला भन्ज्याड हुँदै चीनको डिङ्जे काउन्टीस्थित रिउमा रहेको माइती घरमा पुग्न उनलाई कम्तीमा तीन दिन लाग्छ ।

घिउ, छुर्पी, चियापत्ती, सेल रोटीलगायतका कोसेली बोकेर हिँडेकी उनलाई ओलाङ्चुडगोलाको बस्तीमा पुग्दा बल्ल हिमपातका कारण माइती जाने बाटो पूरै अवरुद्ध भएको थाहा भयो । याङ्माबाट बिहान ६ बजे हिँडेर साँझ ९ बजे लखतरान भएर गोला पुग्दा पाएको सन्देशले उनी अन्यौलमा परिन् । तर, यसरी माइत हिँडेकी उनी एक्लोभने होइनन् ।  तिब्बत माइती भएर नेपालमा विवाह गरेर आएका लमु शेर्पा, फुमु शेर्पा, खान्जे शेर्पालगायत पाँच जनाको समूह नै छ । ओलाङ्चुङगोलामा रोकिएका उनीहरु अब के गर्ने भन्ने अन्योलमा परेका छन् । मौषम कहिले खुल्ला र हिउँ छिचोलेर जान सकिएला भन्ने चिन्ता रहेको छ ।

फक्ताङलुङ गाउँपालिका–७ का वडासदस्य फुपुल्हामु शेर्पा बुधबार रिउबाट ओलाङ्चुङगोला फर्कने तयारीमा थिइन् । नोभेम्बर २१ तारेखका दिन टिपताला भन्ज्याडबाट रिउ गएकी उनले घर फर्कदा पशु चौपायका लागि नुन, भुस, जुत्तालगायतका घरायसी, पशुचौपायका लागि र व्यापारिक प्रयोजनका सामान ल्याउने तयारी गरेकी थिइन् । टिपताला भन्ज्याडसम्म चीनको गाडीमा सामान लिएर आउने र त्यहाँबाट चौरीमा बोकाएर बस्तीसम्म झार्ने योजना रहेको थियो । उनले ल्याउने सामान लिन गोलाबाट परिवारका सदस्य चौंरी लिएर जाने तयारीमा थिए । यसरी फर्कनेमा उनी पनि एक्लो थिइनन् । उनको टोलीमा पनि अर्का वडासदस्य वाड्ग्या शेर्पा, वाड्ग्याकी श्रीमती जोडेगी शेर्पा, सोनाम शेर्पा, दाबाफुटी शेर्पा, छवेसाड शेर्पा गरी ६ जना रहेका छन् ।

Snowfall stops girls walking to Tibet, tourists who climbed Kanchenjunga return to settlement

हिउँले द्विदेशीय सिमाना टिपताला भन्ज्याङदेखि तिब्बत तर्फको भू–भागको पाँच किलोमिटर तलसम्म छपक्कै छोपेपछि उनीहरु तिब्बतमै रोकिएका हुन् । ‘सामान गाडीमा लोड गरिसकेका थियौं, हिँड्ने समयमा बाक्लो हिउँ परेको खबर आएर यातायात ठप्प भएपछि यतै रोकिएर बसेका छौं’ फुपुल्हामुले वडाध्यक्ष छेतेन शेर्पा लामालाई विच्याट मार्फत पठाएको सन्देशमा उल्लेख छ । टिपताला भन्ज्याङ समुन्द्री सतहबाट ५१ सय मिटर उचाइमा रहेको छ । यहाँ मौषमी प्रणालीमा परिवर्तन हुनासाथ हिउँ पर्ने गरेको वडाध्यक्ष शेर्पा बताउँछन् । यसको जानकारी ओलाङ्चुङगोलाका बासिन्दालाई पाउन मुस्किल छ । ‘बोर्डरमा टेलिफोन लाग्दैन, तल बस्तीबाट पनि देखिदैन,’ वडाध्यक्ष छेतेनले भने, ‘बोर्डरमा हिउँ परेको छ कि छैन भनेर रिउ प्रशासनलाई सोध्नु पर्छ ।’

ओलाङ्चुङगोलामा टेलिफोन र इन्टरनेट नचल्दा त्यो पनि सम्भव नहुने उनले बताए । ढिलो गतिमा चल्ने टुजीबाट इन्टरनेट चलाउनु परेको गुनासो उनले सुनाए । वडाका कर्मचारी तेन्जिड शेर्पाका अनुसार कहिलेकाँही तीन घण्टाको पैदलमा रहेको जोङ्गीन भन्ने स्थानमा इन्टरनेट चलाउन पुग्नु पर्छ । मौषम खुलेको मौका परे यहाँ सदरमुकामको टावरको फोरजी नेट चल्छ । मौषम अझै बिग्रने सन्देश मौषमविद्ले दिएकाले चिनियाँ अधिकारीले पनि नेपालीहरुलाई तत्काल तिब्बत नपठाउन मंगलबार विच्याट मार्फत सन्देश पठाएको तेन्जिङले बताए ।

‘टिपताला नाकाबाट तिब्बत जाने नागरिकको नाम लिष्ट र जिल्ला प्रशासन कार्यालय ताप्लेजुडले उपलब्ध गराएको सीमा पास परिचय पत्रको कपी एक साताअघिनै रिउ प्रशासनलाई पठाउनु पर्छ । उनीहरुले विवरण हेरेर ओके गरेपछि बल्ल हामी यताबाट पठाउँछौं,’ तेन्जिङले भने, ‘नत्र उताको इमिग्रेसनको मान्छे बोर्डरमा आउदैन र यताबाट गएकाहरुले जान पाउँदैनन् ।’ वडाध्यक्ष वा वडाका कर्मचारीले आउजाउमा यसरी सहजीकरण गर्दै आएका छन् । अहिलेसम्म ओलाङचुङगोला र याङ्माका बासिन्दा मात्रै तिब्बतमा आउजाउ गरिरहेका छन् ।

बल्लतल्ल साइत जुराएर माइत हिँडेका चेलीहरु मौषम खुल्ने प्रतीक्षाामा केही दिन गोलामा बस्ने र माइत पुगेर फर्कने मनस्थितिमा रहेको तेन्जिडले बताए । ओलाङ्चुङगोलाबाट याङ्मा पुग्न पूरै एकदिन लाग्ने भएकाले उनीहरुलाई तिब्बत पुगेरै फर्कनु उचित हुने गोलाका स्थानीय बताउँछन् । याङ्माडमामा सञ्चार सम्पर्क नभएकाले उनीहरुले अनुमानका भरमा हिँड्नुपर्ने बाध्यता रहेकाे निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् ।

यता, कञ्चनजंघा क्षेत्रको आधार शिविर तर्फ गएका पर्यटकहरु हिउँ पर्न थालेपछि बस्ती तर्फ फर्किएका छन् । सदरमुकाम फुङ्लिङबाट पाङ्मेमा बेसक्याम्पका लागि हिँडेका आँखा उपचार केन्द्र ताप्लेजुङका क्लिनिक इन्चार्ज काजी गुरुङले खम्बाछेनमा पुगेर फर्किएको बताए । उनीहरु मंगलबार बेलुका खम्बाछेन पुग्दा पाङ्मेमा लोनाकबाट पर्यटकहरु फर्किरहेका थिए । ‘हामी पनि बेसक्याम्प नपुगी घुन्सा फर्कियौं,’ काजीले भने, ‘अब दुईदिन घुन्सामा पर्खेर मौषम खुले जाने नत्र सदरमुकाम फर्कने तयारीमा छौं ।’ कन्चनजंघा संरक्षण क्षेत्र घुन्साका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार यो क्षेत्रमा करिब दुई सय विदेशी र एक सय जना स्वदेशी पर्यटक रहेका छन् । घुन्सा भन्दा माथि मात्रै हिउँ परेको सन्देश पाएकाले सबै सुरक्षित स्थानमा बसिरहेको हुनसक्ने उनले बताए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully