साँझदेखि खुम्बु क्षेत्रमा हिउँ पर्न रोकियो, सतर्कता अपनाउन स्थानीय सरकार र प्रशासनको अपिल

दिङबोचे, लोबुचे र गोरकसेपमा बाक्लो हिमपातपछि ५ सयभन्दा बढी विदेशी पर्यटक सुरक्षित रूपमा होटलभित्रै बस्न बाध्य भएका छन् र प्रशासनले बाहिर ननिस्कन सूचना जारी गरेको छ।

कार्तिक ११, २०८२

भानुभक्त निरौला

Snowfall has stopped in the Khumbu region since evening, local government and administration appeal to be vigilant

What you should know

सोलुखुम्बु — २४ घण्टा पछि खुम्बु क्षेत्रमा हिमपात रोकिएको छ। मौसममा बदली आएसँगै हिजो साँझदेखि लगातार सगरमाथा क्षेत्रमा परेको हिमपात आज साँझ ५ बजेबाट पूर्ण रूपमा रोकिएको हो।

दिङबोचेभन्दा माथिको क्षेत्रमा डेढ फिट बाक्लो हिउँ जमेको छ भने साँझबाट मौसममा सुधार आएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाले बताए।

माथिल्लो क्षेत्रमा हिमपात रोकिएसँगै हिमाल र आकाश दुवै खुल्ला भएको र पर्यटकलाई भने होटलभित्रै बस्ने गरी सूचना जारी गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी मनोजित कुँवरले बताए। डीएसपी कुँवरका अनुसार अहिले हिमपातका कारण सगरमाथा क्षेत्रमा ५ सय बढी पर्यटक होटलभित्रै बस्न बाध्य भएका छन्। दिङबोचे क्षेत्रमा २ सय, लोबुचेमा २ सय १२ र गोरकसेपमा १ सय २२ जना विदेशी पर्यटक होटलहरूमा सुरक्षित रूपमा बसेको प्रहरीले जनाएको छ। उनीहरूलाई मौसममा पूर्ण सुधार नआएसम्म घरबाहिर ननिस्कन स्थानीय प्रशासनले आदेश जारी गरेको छ।

त्यस्तै, नाम्चेभन्दा मुनिको क्षेत्रमा बिहानैदेखि परेको अविरल वर्षा पनि रोकिएको छ। अहिले नाम्चेको मौसम सफा रहेको र बादलरहित निलो आकाश देखिएको स्थानीय छिमिकाल्देन शेर्पाले बताए।

यता खुम्बु क्षेत्रमा मौसम बिग्रिएको भन्दै पदयात्रामा रहेका पर्यटकलाई स्थानीय प्रशासन र स्थानीय सरकारले उच्च सतर्कता अपनाउन अपिल जारी गरेका छन्। प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले पदयात्रा र पर्यटन क्षेत्रमा विशेष सतर्कता अपनाउन सार्वजनिक सूचना नै जारी गरेकी छिन्। खुम्बु पासाङ्ल्हामु गाउँपालिकाले पनि सूचना जारी गर्दै पर्यटकलाई सतर्कता अपनाउन आग्रह गर्दै, विपद् भएमा सहयोग गर्न स्थानीय सरकार तयार रहेको सूचना प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले बताए। प्रमुख प्रशासकीय अधिकृत गौतमका अनुसार अहिलेसम्म कुनै विपद् घटना भएका छैनन्।

उता मौसम पूर्वानुमान महाशाखाले भने भोलि एक दिन मौसममा सुधार आए पनि पर्सिबाट हिमपातको सम्भावना रहेको जनाएको छ। मौसमविद् डेभिड ढकालले पर्सिको दिनदेखि सगरमाथा क्षेत्रमा ठूलो हिमपातको सम्भावना रहेको बताएका छन्। पर्सिको दिनबाट थप सजगता अपनाउन मौसमविद् ढकालले सुझाव दिएका छन्।

भानुभक्त निरौला

Link copied successfully