पाथीभरामा एकैदिन छ हजारभन्दा बढी तीर्थयात्री

शनिबार दिउँसो २ बजेसम्म ५ हजार ९ सय पुगेका थिए भने बेलुका ६ बजेसम्म थप ५ सय पुगेका हुन् ।

कार्तिक ८, २०८२

आनन्द गौतम

More than 6,000 pilgrims visit Pathibhara in a single day

What you should know

ताप्लेजुङ — पाथीभरा मन्दिरमा शनिबार एकैदिन छ हजार तीन सय ९३ तीर्थयात्रीले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो संख्या एकैदिन सबभन्दा बढी तीर्थयात्री आएको यो सिजनकै धेरै हो ।

शनिबार दिउँसो २ बजेसम्म ५ हजार ९ सय पुगेका थिए भने बेलुका ६ बजेसम्म थप ५ सय पुगेका हुन् । ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदी शुक्रबार दिउँसो २ बजे नै तीर्थयात्रीले भरिएको थियो । समिति अध्यक्ष रक्की थेवेले काफ्लेपाटी वा सदरमुकाम फुङलिङमा बसेर शनिबार बिहान मात्रै जान सार्वजनिक सूचना जारी गरेका थिए ।

विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले यो सिजन सुरु भएपछि शनिबारको दर्शनार्थी संख्या अहिलेसम्मकै उच्च रहेको बताए । तर अघिल्लो वर्षको संख्यालाई ब्रेक गर्न भने नसकेको उनको कथन छ। 

अघिल्ला वर्ष एकैदिन १५ हजारभन्दा बढी तीर्थयात्रीले दर्शन गरेको तथ्यांक समितिसँग छ ।  'असोजमा वा कात्तिकमा पनि दसैंको समयमा बढी संख्या हुने हो,' हाङबाङले भने, 'यस वर्ष वर्षाले मेची राजमार्ग र तमोर करिडोर बन्द हुँदा प्रभाव पर्‍यो ।' 

चिसो मौसम सुरु भएको र कार्यालय स्कुलहरु खुल्ने भएकोले यस सिजनमा एकैदिन बढी तीर्थयात्री आएको यो नै हुनसक्ने हाङबाङले बताए ।

समितिका सूचना अधिकृत सन्तोष पुर्कोटीका अनुसार असोज महिनाभरमा २९ हजार १ सय ७४ जना आएको तथ्यांक छ । गत वर्ष यो महिनामा ६१ हजार पर्यटक आएका थिए । 

२०८१ मा २ लाख २१ हजारले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully