खोटाङमा माइती जाने चेलीलाई नि:शुल्क यातायात सेवा

महिला, वृद्ध–वृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएकाहरूलाई माइती-मावली पुर्‍याउन अभियान सुरु गरिएको दसैं तिहार चेलीलाई उपहार अभियानका संयोजक सञ्जयकुमार राईले बताएका छन् ।

कार्तिक ५, २०८२

डम्बरसिं राई

खोटाङ — जिल्लामा तिहारको अवसरमा माइतीसम्म नि:शुल्क यातायात सेवा सुरु गरिएको छ । स्थानीय युवाहरूले ‘दसैं-तिहार चेलीलाई उपहार अभियान’ सञ्चालन गरी तिहारमा माइती–मावली जाने चेलीलाई निःशुल्क सवारी सेवा उपलब्ध गराएका हुन् । 

महिला, वृद्ध–वृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएकाहरूलाई माइती-मावली पुर्‍याउन अभियान सुरु गरिएको दसैं तिहार चेलीलाई उपहार अभियानका संयोजक सञ्जयकुमार राईले बताएका छन् । यो अभियान बुधबारदेखि तीन दिन कात्तिक ७ सम्म  सञ्चालन गरिने राईले सुनाए । उक्त अभियान गत वर्ष पनि सञ्चालन गरिएको थियो । 

गत वर्ष सञ्चालन गरिएको पहिलो संस्करणमा चार सय १५ जनाले सेवा पाएको र दोस्रो संस्करणको रूपमा यो वर्ष सञ्चालन गरिएको अभियानमा दसैं–तिहारसम्म हजार जनालाई सेवा दिने लक्ष्य राखिएको राईको भनाइ छ । 

अभियानमा राइडरको रूपमा २०–२५ जना फिल्डमा खटिएको राईले सुनाएका छन् । यो अभियानका लागि विभिन्न व्यक्तिले सहयोग गरेको राईले जनाएका छन् । अभियानमा मिलन आचार्य, फुर्बा शेर्पालगायत गाडीसहित खटिएको राईले सुनाएका छन् । अन्य थुप्रैले समेतआर्थिक लगायत सहयोग गर्ने प्रतिबद्धता जनाएको राईको भनाइ छ । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully