आसन्न तिहार र छठ पर्वलाई लक्षित गर्दै त्रियुगा नगरपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र आयातित प्लास्टिकजन्य सामग्रीको प्रयोग रोक्न अनुरोध गरेको छ ।
What you should know
उदयपुर — तिहारका लागि बर्सेनि फूल खेती गर्दै आएकी उदयपुरको त्रियुगा नगरपालिका–१० बाबरीकी गोमा रोकाले लगाएको फूलबारीमा यस वर्ष फूलका थुंगा छैनन्, डाँठ मात्रै छन् । फूल खेतीकै लागि १० रोपनी जग्गा छुट्याएकी उनले यस वर्ष राम्रै फूल उत्पादन हुने सोचेकी थिइन् । तर नतिजा ठ्याक्कै उल्टो भयो ।
आफूले रोपेका फूलका बोटमा डाँठ मात्रै भएको उनले सुनाइन् । ‘पोहोर साल ६० हजारको फूल बेचेँ,’ उनले भनिन्, ‘तर यस वर्ष सबैको बारीमा फूल फूलेनन् । डाँठ मात्रै रहे ।’
बजारमा पाइने प्लास्टिकका फूलभन्दा सयपत्री फूलको माग अहिले बढी छ । तर उदयपुरका धेरैजसो किसानले लगाएका फूलका बोटमा यस वर्ष थुंगा लागेनन् । बजारमा सयपत्री फूल किन्न आएकी त्रियुगा नगरपालिका–१० बोक्सेकी ननिसा मग्रातीले यसपालि प्लास्टिककै फूलमा चित्त बुझाउने निर्णयमा पुगेको बताइन् । दिउँसो बजारभरि चहार्दा पनि सयपत्री फूलको माला कतै नपाएपछि उनले यस वर्षको तिहारमा दाजुभाइलाई प्लास्टिकै माला लगाइदिने सुनाइन् ।
‘यस वर्ष त अचम्मै भयो, बजारभरि सयपत्रीको माला खोज्दा पनि कतै भेटिएन, अब यही प्लास्टिकको माला त लगाइदिने होला नि !,’ उनले भनिन् । बजारका कुनै कुनै पसलमा छिटफुट रूपमा पाइने सयपत्री फूलको माला पनि अचाक्ली महँगो रहेको उनले सुनाइन् । ‘हतपत पाइँदै नपाइने, पाए पनि किन्नै नसकिने मूल्य रहेछ, सयपत्रीको मालाको,’ उनले भनिन् ।
नेपालमा यस वर्ष फूल उत्पादन न्यून भएपछि छिमेकी देश भारतबाट आयात गरिएको व्यवसायीको भनाइ छ । गाईघाटका कस्मेटिक पसल संचालक आनन्द दाहाल भन्छन्, ‘बजारमा मागअनुसार सयपत्री फूलका माला पुर्याउन सकिएको छैन, भारतबाट आउने फूल यहाँ उत्पादन भएको भन्दा धेरै महँगो हुन्छ ।’
पहिलाजस्तो फूल खेती गर्ने जनशक्ति घटेर पनि बजारमा तिहारमा फूलको अभाव भएको कतिपयको भनाइ छ । ‘गाउँका काम गर्ने जनशक्ति शहरबजारतिर छन्, फूलको खेती गर्नेहरूको संख्या घटेर पनि यस वर्ष फूलको अभाव भएको हो,’ गाईघाटकी माया भण्डारीले बताइन् ।
बढीजसो उदयपुरका पहाडी क्षेत्रमा उत्पादन हुने गरेको सयपत्री फूल दशैंमा परेको वर्षाका कारण सडक सञ्जाल बिग्रिएपछि बजारसम्म पुग्न नसक्दा बजारमा फूलको अभाव देखिएको कतिपयको भनाइ छ । कतिपय भने सयपत्री फूल्ने समयभन्दा अगाडि नै तिहार आएको हुनाले तिहारमा फूलको अभाव भएको बताउँछन् । 
यता कटारी नगरपालिकास्थित त्रिवेणी माविका बिद्यार्थीहरूले भने विद्यालयको जग्गामा तिहारलाई लक्षित गर्दै बर्सेनि सयपत्री फूलको खेती गर्दै आएका छन् । त्रिवेणी माध्यमिक विद्यालयको कृषि प्राविधिक धारतर्फका विद्यार्थीले ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत व्यावसायिक रूपमा सयपत्री, मखमली र गोदावरी फूलको खेती गर्दै आएका छन् । कटारी नगरपालिकाले पनि बजारमा पाइने प्लास्टिकका फूलको सट्टामा त्रिवेणी माविका विद्यार्थीले उत्पादन गरेको सयपत्री फूलको प्रयोग गर्न अनुरोध गरेको छ ।
आसन्न तिहार र छठ पर्वलाई लक्षित गर्दै नगरपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र आयातित प्लास्टिकजन्य सामग्रीको प्रयोग रोक्न अनुरोध गरेको छ । ‘नक्कली फूल तथा प्लास्टिकजन्य माला आयात नगरी स्थानीय उत्पादन प्रयोग गरौँ’ भन्ने नारासहित गत वर्षदेखि नै नगरले यस्तो नीति अवलम्बन गरेको नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार स्थानीय उत्पादन प्रयोग नगर्दा एकातिर वातावरण प्रदूषण बढ्ने र अर्कातिर नगरबासीको पैसा बाहिरिने भएकाले नक्कली फूलमालामा रोक लगाइएको हो । विद्यालयले गत वर्षको तिहार र छठदेखि नै आफ्नो उत्पादनलाई प्रोत्साहन दिँदै नक्कली फूलमालाको बिक्री वितरणमा रोक लगाएको प्रमुख प्रशासकीय अधिकृत राजन थापाले जानकारी दिए ।
तर यस वर्ष जिल्लाका अन्य ठाउँमा फूल उत्पादन पर्याप्त नभएको र बजारबाट माग धेरै आएकाले अब आउने ‘अर्डर रिसिभ’ गर्न नसकिने फूल खेती गर्दै आएका विद्यार्थी नितेश अधिकारीले बताए । विद्यालयले यस्तो सूचना लेखेर सार्वजनिक पनि गरेको छ ।
