बल्ल खुल्यो खाँदबारी–किमाथांका सडक

भोटखोला गाउँपालिकाको समटार र अल्फाटे क्षेत्रमा गएका ठूला पहिरोका कारण भदाै १५ देखि सडक अवरुद्ध भएको थियो ।

कार्तिक २, २०८२

कान्तिपुर संवाददाता

Khandbari-Kimathanka road finally opened

What you should know

संखुवासभा — लगातार अवरुद्ध हुँदै आएको काेशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक दुई महिनापछि खुलेको छ । भोटखोला गाउँपालिकाको समटार र अल्फाटे क्षेत्रमा गएका ठूला पहिरोका कारण भदाै १५ देखि सडक अवरुद्ध भएको थियो ।

लामो समयको निरन्तर प्रयास र सडक मर्मतपछि शुक्रबारबाट पुनः सञ्चालनमा आएकाे उत्तर दक्षिण काेशी सडक याेजनाले जनाएकाे छ ।

काेशी राजमार्गअन्तर्गत पर्ने खाँदबारी–किमाथाङ्का सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र याेजनाकाे संयुक्त प्रयासमा सडक खोल्न सफल भएकाे हाे । उनका अनुसार भोटखोला क्षेत्रको कठिन भूभाग र लगातारको वर्षाका कारण मर्मतकाे काम  ढिलाइ भएको थियो । 'निरन्तर प्रयासपछि सडक खुलाउन सफल भएका छौं,' गुरुङले भने, 'सडकमा ढुंगा सोलिङ र ग्राभेलिङ सम्पन्न गरी एकतर्फी यातायात सञ्चालन गरिएकाे छ ।' 

सडक खुलेसँगै वरुण नदीमा बनेको पक्की पुलबाट सवारीसाधन सञ्चालन भएकाे छ । लामो समयदेखि सडक बन्द हुँदा भोटखोला, मकालु लगायतका दुर्गम क्षेत्रका बासिन्दा बजार आपूर्ति र आवागमनमा ठुलो कठिनाइ झेल्दै आएका थिए ।

सडक खुल्दा खाँदबारीदेखि भोटखोला हटियासम्म र थोगाङ खोलासम्म सवारी साधन सञ्चालन गर्न सकिने आयोजनाका प्रमुख गुरुङले बताए । सडक अवरुद्ध हुँदा दैनिक उपभोगका वस्तु, औषधि र निर्माण सामग्रीको आपूर्ति ठप्प भएको थियो । दुर्गम बस्तीका स्थानीयले पैदल यात्रामा निर्भर रहँदै स्वास्थ्य उपचार, शिक्षा र प्रशासनिक सेवामा समेत पहुँच गुमाएका थिए ।

काेशी राजमार्ग पूर्वी भेगको प्रमुख व्यापारिक र रणनीतिक मार्ग हो, जसले चीनको सीमा किमाथाङ्कासम्म जोड्छ ।सडक खुल्नेबित्तिकै स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भाेटेले, 'लामो समयपछि सडक खुलेकाम निकै खुसी छु, अब पुनः अवरोध नहोस् भनेर हामी पनि स्थानीयस्तरबाट संरक्षणमा जुट्नेछौं ।'

कान्तिपुर

Link copied successfully