अन्य ठाउँमा पसल भएका व्यापारी पनि तिहारका बेलामा घण्टाघर , सब्जीमण्डी परिसरमा पसल राख्ने गर्छन् । दिनको ५० रुपियाँ तिरेर सडक छेउमा पसल राखिएको व्यापारी आसिक पासवानले बताए ।
What you should know
धरान — तिहार लागेसँगै धरानका मुख्य बजार क्षेत्रमा सामान खरिद गर्ने उपभोक्ताको भीड देखिन थालेको छ । बिहानदेखि साँझसम्म धरानका मुख्य बजार भानुचोक, सब्जीमण्डी, पुरानो बजार र घण्टाघरवरपरका गल्लीमा व्यापारी र किनमेल गर्ने ग्राहकको चहलपहल बढ्दै गएको छ ।
घण्टाघर परिसरमा लस्करै फूल, माला, बत्ती, रंगोलीदेखि मिठाई, नाङ्लो, झाडु र कपडाको लस्करै पसल राखिएको छ । पसलहरूमा झिलिमिली बत्ती, प्लास्टिकका माला, पारम्परिक दियो, तामा र पित्तलका भाँडा, सप्तरंगी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।
धरानका किराना पसल, लुगा पसलदेखि सब्जी पसलमा समेत तिहारका सामग्री बेच्न राखिएको छ । सब्जी पसल संचालन गर्दै आएका व्यापारी विकास कार्कीले यस वर्ष तिहार पर्व नजिकिएसँगै हरियो सागसब्जीको साटो उनको पसल तिहारका सामग्री र फूलहरूले ढाकिएको छ ।
व्यापारी कार्की भन्छन्, ‘तिहार नजिककिएसँगै सब्जीभन्दा बढी तिहारका सामग्री बिक्री हुने भएकाले तिनै सामग्री बेच्न राखिएको हो ।' उनले रंग , माटोका दियो, झिलिली बत्ती , मिठाई, प्लाष्टिकका सजावट, फूल, भाइटीकाका लागि रुमाल , मफलर इत्यादि सामान बेच्न राखेका छन् । उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष व्यापार अलिक कम छ , दिनमा ७/८ हजारजस्तो बिक्री भइरहेको छ ।’
घण्टाघर परिसरको सडक पेटीमा लस्करै तिहारका सामग्रीको पसल राखिएको छ । त्यहाँ अरुबेला पसल राख्न नदिए पनि तिहारको बेलाचाहिँ ७ दिन पसल राख्न अनुमति दिने गरिन्छ । त्यहाँ धरानका मात्र नभएर धरान बाहिरको पूर्वी पहाडदेखि मधेश प्रदेशको सप्तरीसम्मका व्यापारी तिहारका सामान बेच्न आइपुग्छन् । सप्तरीबाट तिहारका बेला सधैं धरानमा सामान बेच्न आउने गरेको ७० वर्षीय अमित शाहले सुनाए ।
उनी भन्छन्, ‘तिहारको समयमा सप्तरीबाट सामान बेच्न आउने गरेको छु ।’ तिहार सुरु भएसँगै शनिबारदेखि व्यापार अलिक बढेको र ग्राहकको भीड हुने गरेको उनले बताए । गत वर्षमा दिनकै २० देखि २५ हजारसम्म व्यापार गर्दै आएकामा यस वर्ष अलिक व्यापार कम भएको उनले बताए । बिहीबारदेखि घण्टाघर परिसरमा सामान बेच्न राखिएको उनले बताए । 'सुरु दिन व्यापार कम भएको थियो । अहिले १० देखि १२ हजार हुने गरेको छ,' उनले सुनाए ।
अन्य ठाउँमा दोकान भएका व्यापारी पनि तिहारका बेलामा घण्टाघर , सब्जीमण्डी परिसरमा पसल राख्ने गर्छन् । दिनको ५० रुपियाँ तिरेर सडक छेउमा पसल राखिएको व्यापारी आसिक पासवानले बताए । ‘दिनको ५० रुपियाँ नगरपालिकालाई बुझाएपछि तिहारमा एक हप्ता पसल राख्न पाइन्छ,' उनले भने, ‘अहिले बढी बिक्री हुने भनेको लक्ष्मी पूजाका सामग्री हुन् । लक्ष्मी पूजाका लागि चाहिने माटाका पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्री किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।
तिहारका सामानहरू बजारमा जहाँतही बेच्न राखिएको देखिए पनि सयपत्री, मखमली फूल भने बजारमा देखिएको छैन । गत वर्ष भने यतिबेलासम्ममा सयपत्री फूलले बजार फूलमय हुने गर्थ्यो । तर यस वर्ष बजारमा सयपत्री , मखमली फूल आइपुगेको छैन । यसपालि तिहारमा फूलको अभाव हुने दखिएको धरान–१३ स्थित कृषि उपज बजारका बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । यस वर्ष समयमा फूल नफुलेका कारण कृषि बजारमा फूल नआएको, पहाडी जिल्ला र छिमेकी देश भारतबाट पनि फूल नआएको उनको भनाइ छ ।
त्यस्तै गत वर्षहरूमा झैँ यस वर्ष पनि धरानको सब्जीमण्डी, कलेज रोड परिसरमा बाटामा झिलिमिली लगाइएको छ, जसले गर्दा बजार क्षेत्र आकर्षित देखिएको छ । साँझमा फोटो खिच्ने, भिडियो बनाउने, बजार घुम्न आउने मानिसको भीड पनि देखिन थालेको छ ।
