जेन-जी आन्दोलनमा विभिन्न कारागारबाट फरार ९ जना उदयपुरमा पक्राउ

भदौ २४ गते भएको प्रदर्शनमा कारागार फुटाएर भागेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले हालसम्म ९ जनालाई पक्राउ गरेको हो ।

आश्विन २७, २०८२

राकेश नेपाली

9 people who absconded from various jails during Gen-G movement were arrested in Udaipur

What you should know

उदयपुर — जेन-जी आन्दोलनका क्रममा विभिन्न जिल्लाका कारागारबाट फरार भएका ९ जना कैदीबन्दीहरू उदयपुरमा पक्राउ परेका छन् । भदौ २४ गते भएको प्रदर्शनमा कारागार फुटाएर भागेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले हालसम्म ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा झुम्का कारागारबाट चार जना, केन्द्रीय कारागार, सुन्धाराबाट दुई जना, नख्खु कारागार ललितपुरबाट दुई जना र जिल्ला कारागार, बैतडीबाट एक जना रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार झुम्का कारागारबाट फरार भएका धरान उपमहानगरपालिका–८ सुनसरीका ३२ वर्षीय प्रवीण सन्दास भदौ २९ गते पक्राउ परे ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा ९ वर्ष १० महिना ८ दिन कैद तोकिएको थियो । सोही कारागारमा जबरजस्ती करणी मुद्दामा थुनामा रहेका चौदण्डीगढी नगरपालिका–१ का ३७ वर्षीय धन बहादुर राई भदौ २४ गते कारागारबाट भागेका थिए । जबरजस्ती करणी मुद्रामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका चौदण्डीगढी नगरपालिका–४ का ६४ वर्षीय ज्ञान बहादुर सार्की र कर्तव्य ज्यान मुद्रामा थुनामा रहेका लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका ७२ वर्षीय सन्तबहादुर राई केन्द्रीय कारागार सुनधाराबाट फरार भएका थिए । 

यस्तै, नख्खु कारागार ललितपुरबाट भागेका जबरजस्ती करणी मुद्दामा थुनामा रहेका त्रियुगा नगरपालिका–१ जोगिदहका ३१ वर्षीय दिलीप कार्की, झुम्का कारागारमा लागु औषध मुद्दामा थुनामा रहेका बेलका नगरपालिका–९ कमलबारीका २८ वर्षीय नरेश बि.क.लाई पनि कारागारबाट भागेर घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा फेला पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँले बताए । 

पछिल्लो पटक असोज २१ गते मात्रै तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला कारागार, बैतडीबाट फरार भएका रौतामाई गाउँपालिका–८ का २४ वर्षीय प्रेमबहादुर तामाङ, नख्खु कारागार, ललितपुरबाट भागेका त्रियुगा नगरपालिका–६ जलजलेका २८ वर्षीय सञ्जीव दर्जीलाई प्रहरीले पक्राउ गरेर कैद भुक्तानका लागी सम्बन्धित कारागार पठाएको छ ।

दर्जीलाई चोरी तथा डाँका उद्योगमा ५ वर्ष ६ महिना कैद र ५५ हजार जरिवाना तोकिएको थियो । झुम्का कारागारबाट फरार भएका बेलका नगरपालिका–३ का ४० वर्षीय योगेन्द्र राई पनि पक्राउ परेका छन् । उनी जबरजस्ती करणी मुद्दामा थुनामा थिए । पक्राउ परेका सबैलाई सम्बन्धित कारागार पठाइएको प्रहरीले जनाएको छ । कारागारबाट भागेका अन्यलाई पनि प्रहरीको सम्पर्कमा आउन जिल्ला कारागार कार्यालय उदयपुरले अनुरोध गरेको छ ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully