तामाङले चलाइरहेको बोलेरो गाडी को.१ ज ३१६९ मा लुकाइछिपाई राखिएको खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
संखुवासभा — संखुवासभाको भोटखोला गाउँपालिका–४ का ३३ वर्षीय सुरेश तामाङ लागुऔषधसहित पक्राउ परेका छन् ।
उनले चलाइरहेको बोलेरो गाडी को.१ ज ३१६९ मा लुकाइछिपाई राखिएको खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
खाँदबारीबाट भोटखोलातर्फ जाँदै गरेको गाडीमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरी चौकी नुमबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले गाडी रोकी जाँच गर्दा करिब २० ग्राम ४ मिलिग्राम लागुऔषध र डिजिटल तराजु जस्तो देखिने उपकरण १ थान बरामद गरेको जनाएको छ ।
निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले पक्राउ परेका चालकसहित सवारीसाधनका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार पक्राउ परेका तामाङमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको छ । संखुवासभामा पछिल्लो समय लागुऔषध कारोबार बढ्दै गएको भन्दै प्रहरीले निगरानी थप कडाइ गरेको जनाएको छ ।
